पाकिस्तानी स्पिनर उस्मानको बलिङ एक्सन परीक्षण हुने

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’मा भारत र पाकिस्तानबिच हुने बहुप्रतीक्षित प्रतिस्पर्धा १५ फेब्रुअरीमा हुँदै छ । यो खेल श्रीलंकाको प्रेमादासा रंगशालामा हुनेछ । भारतविरुद्ध मैदानमा प्रवेश गर्नुअघि पाकिस्तानले ठुलो झट्का सामना गर्नुपर्ने देखिएको छ । कोलम्बोमा मंगलबार राति अमेरिकामाथि ३२ रनको जित निकालेको पाकिस्तानका मुख्य स्पिनर उस्मान तारिकको बलिङ एक्सन परीक्षण हुने आइसिसीले जनाएको छ । 

उस्मानले अमेरिकाविरुद्ध २७ रन खर्चेर तीन विकेट लिएका थिए । आइसिसीको प्राविधिक टोलीले लिने परीक्षणमा पास हुँदा मात्र उस्मानले भारतविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । प्राविधिक टोलीले उनको बलिङ एक्सन नियमभन्दा बाहिर रहेको रिपोर्ट बुझाउँदा उस्मान प्रतियोगिताबाट बाहिरिन सक्छन् । पाकिस्तानले उस्मानको बलिङ एक्सन परीक्षणबारे प्रतिक्रिया दिएको छैन । विश्वकपमा प्रतिस्पर्धा गरिरहेका बलरमध्ये उस्मानको बलिङ एक्सन बिल्कुल फरक छ ।

यस्तो छ बलिङ गर्ने तरिका
पाकिस्तानले उस्मानलाई मिस्ट्री लेगस्पिनरका रूपमा टोलीमा समावेश गरेको हो । दायाँहाते स्पिनर उस्मानको बलिङ गर्ने तरिका अन्य बलरको भन्दा भिन्न देखिन्छ । क्रिजमा उसको रनअप सामान्यझैँ लाग्छ । बल रिलिज गर्नुअघि क्रिज लाइनमा उनी दुई सेकेन्डजति रोकिन्छन् । त्यसपछि उनी अफ ब्रेक स्पिनर गर्दै बल फ्याँक्छन् । अमेरिकी ब्याटरहरूले पनि उनको बलिङ गर्ने शैली फरक र बुझ्न नसकिने बताइसकेका छन् । यही फरक बलिङ एक्सनका कारण उस्मान विश्वकपमा अहिले चर्चाका बलर बनेका छन् । आइसिसीले पनि अमेरिकाविरुद्धको प्रतिस्पर्धामा उस्मानको बलिङ एक्सन पुन: एकपटक परीक्षण गर्नुपर्ने जनाएको हो । पाकिस्तानका कप्तान सलमान अघाले उस्मान टोलीकै म्याच विनिङ बलर भएको प्रतिक्रिया दिएका छन् । ‘अरू बलरभन्दा उसको बलिङ शैली फरक छ । तर, सबै किसिमको टेस्टपछि टोलीमा राखिएको हो,’ कप्तान अघाले भने, ‘हामीलाई विश्वास छ– यसपटक पनि सहजै बलिङ परीक्षणमा उत्र्तीण हुनेछ ।’ 

पिएसएलमा पनि प्रश्न
उस्मानको बलिङ एक्सन पहिलोपटक शंकास्पद भएको होइन । सन् २०२४ मा पनि पाकिस्तान सुपर लिगमा उनको बलिङ एक्सनमाथि छानबिन भएको थियो । लाहोरमा रहेको राष्ट्रिय क्रिकेट सेन्टरमा उनको बलिङ टेस्ट भयो । जहाँ उनको बलिङ सही भएको रिपोर्ट आएको थियो । त्यसपछि उनले पिएसएलमा नियमित बलिङ गर्ने अवसर पाए ।

See More On

सुझावित समाचार