आइसिसी पुरुष टी–२० विश्वकप २०२६ : टेस्ट राष्ट्रलाई नेपालमा सिरिज खेल्न रोहितको आग्रह

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण
  • भारत, अस्ट्रेलिया र इंग्ल्यान्डजस्ता विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रहरूलाई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरी नेपाली क्रिकेटको विकासमा सहयोग गर्न रोहितले आग्रह गरेका छन्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्व क्रिकेटका शक्तिशाली राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड र भारतलाई कीर्तिपुरको त्रिवि मैदानमा आएर सिरिज खेल्न आग्रह गरेका छन् । इटालीविरुद्धको खेलअगाडि मंगलबार वानखेडे रंगशालामा भएको प्रिम्याच कन्फरेन्समा रोहितले तीन राष्ट्रलाई आतिथ्य गर्दै नेपाली क्रिकेट विकासमा योगदान गर्न अनुरोध गरेका हुन् । ‘भारत, अस्ट्रेलिया, र इंग्ल्यान्डलाई कीर्तिपुर मैदानमा खेल्न आउन आग्रह गर्दछु,’ उनले भने, ‘यस्तो अवस्थामा विश्व क्रिकेटको नजर नेपालमा रहँदा नेपाली क्रिकेट अझै राम्रो हुनेछ ।’

नेपालले आइसिसीको पूर्ण सदस्य दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान, बंगलादेश र इंग्ल्यान्डसँग खेलेको छ । भारतमा चलिरहेको टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’मा नेपालले दुईपटकको विजेता इंग्ल्यान्ड बहादुरी प्रदर्शन गरेको थियो । नेपाल झिनो चार रनले इंग्ल्यान्डबाट पराजित भएको थियो । सन् २०२४ मा नेपालले एसिया कपमा एउटै समूहमा भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । गत अक्टोबरमा नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिज २–१ ले जितेको थियो । सन् २०२४ को विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले स्तब्ध भयो । पछिल्लो दुई वर्षमा नेपालले विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध प्रतिस्पर्धामा मात्र गरेको छैन, उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । 

पत्रकार सम्मेलनमा टेस्ट राष्ट्रसँग नियमित प्रतिस्पर्धा गर्न अवसर पाउँदा विश्व क्रिकेटमा नेपाल पनि अगाडि आउने उनले प्रतिक्रिया दिए । ‘हामीले नियमित रूपमा उनीहरूसँग प्रतिस्पर्धाको अवसर पाउँदा नेपाल पनि एसोसिएट राष्ट्रबाट अगाडि बढ्नेछ,’ रोहितले भने, ‘अन्तर्राष्ट्रिय शृंखला खेल्ने अवसर पाए नेपाली खेलाडीहरूको क्षमता अझ परीक्षण हुन्छ र विकासमा पनि सहयोग पुग्छ ।’ कप्तान रोहितले विश्वकपजस्तो ठुलो प्लाटफर्ममा दबाब वहन गर्न नसक्दा चुकेको बताएका छन् । दुई वर्षअघिको विश्वकपमा दक्षिण अफ्रिकासँग खेलेपछि गत सेप्टेम्बरमा मात्रै वेस्ट इन्डिजसँग खेल्ने अवसर पाएको बताए । ‘टेस्ट राष्ट्रसँगै नियमित खेल भएको अवस्थामा नेपाली क्रिकेटको भविष्य उज्जल हुनेछ,’ उनले भने, ‘हामीले दक्षिण अफ्रिकासँग खेलेपछि एकैपटक वेस्ट इन्डिजसँग धेरै पछि खेल्यौँ । त्यसले पनि गाह्रो बनायो, नियमित खेल भएको अवस्थामा हामीले राम्रो गर्नेछौँ ।’

रोकिएको छैन नेपालको चर्चा
आइसिसी टी–२० वरीयताको तेस्रो स्थान तथा उपाधि दाबेदार इंग्ल्यान्ड र नेपालबिचको सनसनीपूर्ण खेलको चर्चा अहिले पनि चलिरहेको छ । इंग्ल्यान्डसँग खेलअघि प्रिम्याच प्रेस कन्फरेन्समा वेस्ट इन्डिजका प्रशिक्षक ड्यारेन सामीले नेपालजस्तो टोलीलाई सहयोग गर्न तयार रहेको बताए । उनले विश्वमा क्रिकेट विस्तार गर्न नेपाललाई साथ दिनुपर्ने बताएका छन् । ‘हामी टेस्ट राष्ट्रको जिम्मेवारी भनेकै क्रिकेटलाई फराकिलो बनाउनु हो,’ सामीले भने, ‘हामीले नेपालजस्तो एसोसिएट राष्ट्रलाई साथ दिनुपर्छ र क्रिकेट विकासमा योगदान पुर्याउनुपर्छ ।’

वानखेडेमा १९ हजार नेपाली समर्थक उपस्थित
नेपाल र इंग्ल्यान्डबिच वानखेडे रंगशालामा भएको प्रतिस्पर्धामा १९ हजार नेपाली समर्थक रहेको आइसिसीले जनाएको छ । आइसिसीले खेल हेर्न १९ हजार ३६९ समर्थक उपस्थित भएको आइसिसीले जनाएको छ । आइसिसीको तथ्यांकअनुसार भारत र अमेरिकाबिचको खेलमा सर्वाधिक २८ हजार ७२६ समर्थक उपस्थित भएका थिए । यो खेल पनि वानखेडे रंगशालामै भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्सबिच सबैभन्दा कम पाँच हजार दर्शक रहे । यो खेल श्रीलंकाको कोलम्बोमा भएको थियो ।

भारत र पाकिस्तानबिच खेल हुने 
पाकिस्तानले आइसिसी टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको समूह चरणको खेल खेल्ने भएको छ । यसअघि पाकिस्तानले १५ फेब्रुअरीमा कोलम्बोमा हुने खेल नखेल्ने निर्णय गरेको थियो । विश्वकपमा पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्दै छ । यसअघि पाकिस्तानले बंगलादेशले भारतमा गएर नखेल्ने निर्णयको समर्थन गर्दै आफूले पनि भारतसँग नखेल्ने निर्णय लिएको थियो । पाकिस्तान सरकारको आधिकारिक सामाजिक सञ्जाल एक्सले मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिएको उल्लेख गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी), बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बिच त्रिकोणात्मक द्वन्द्व चलिरहेको थियो । 
 

सुझावित समाचार