मेघालयको कोइला खानीमा विस्फोट : मृत्यु हुने नेपालीको संख्या नौ पुग्यो

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्समा रहेको एक कोइला खानीमा भएको विस्फोटमा मृत्यु हुने नेपालीको संख्या नौ पुगेको छ। विस्फाेट गत २२ माघ (५ फेब्रुअरी २०२६) मा भएको थियो ।

नेपाली राजदूतावास, नयाँदिल्लीका अनुसार सोही दुर्घटनामा सातजना नेपाली नागरिक घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नौ नेपालीसहित सो विस्फाेटमा हालसम्म २७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

नेपाली राजदूतावासले घाइतेहरूको उपचार, मृतकका परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा भारतको विदेश मन्त्रालय, स्थानीय प्रशासन र प्रहरीसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । आवश्यक जानकारी वा सहजीकरणका लागि पीडित परिवारलाई राजदूतावासको हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रारम्भिक जानकारीअनुसार उक्त कोइला खानी अवैध रूपमा सञ्चालन हुँदै आएको बताइएको छ । गैरकानुनी रूपमा सञ्चालन भएका यस्ता कार्यस्थलमा दुर्घटना भएमा उद्धार, उपचार तथा क्षतिपूर्तिमा समस्या आउने भएकाले रोजगारीमा जानुअघि पर्याप्त जानकारी लिन राजदूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ ।

राजदूतावासले अपरिचित व्यक्ति वा मध्यस्थकर्ताको प्रलोभनमा नपरी, रोजगारदाता कम्पनी, तलब तथा सेवा–सुविधाबारे स्पष्ट जानकारी लिएर र आवश्यक औपचारिक प्रक्रिया पूरा गरेर मात्र रोजगारीमा संलग्न हुन आग्रह गरेको छ ।
 

सुझावित समाचार