नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्व क्रिकेटका महारथी राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड र भारतलाई कीर्तिपुरस्थित त्रिवि मैदानमा आएर खेल्न आग्रह गरेका छन्।
मंगलबार बानखेडे रंगशालामा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले तीन टिमलाई आतिथ्य गर्दै नेपाली क्रिकेट विकासमा योगदान गर्न अनुरोध गरेका हुन्।
‘भारत, अस्ट्रेलिया, र इंग्ल्यान्डलाई कीर्तिपुर मैदानमा खेल्न आउन आग्रह गर्दछु,’ रोहितले भने, ‘यस्तो अवस्थामा विश्व क्रिकेटको नजर नेपालमा पर्नेछ र नेपाली क्रिकेट अझै राम्रो हुनेछ।’
रोहितले इंग्ल्यान्डसँग अन्तिम ओभरमा ४ रनले पराजित भएपछि आइपिएल टिमलगायतले प्रशंसा मात्रै गरको बताउँदै खेलाडी अनुबन्ध गर्न पनि अनुरोध गरे।
रोहितले विश्वकपमा खेल्दा दबाब थेग्नुपर्ने र त्यहीँ नेपाली टिम चुकेको बताए। उनले पछिल्लोपटक दक्षिण अफ्रिकासँग खेलेपछि गत सेप्टेम्बरमा मात्रै वेष्ट इन्डिजसँग खेल्ने अवसर पाएको र टेष्ट राष्ट्रसँगै नियमित खेल भएको अवस्थामा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताए।