सल्यानमा मरेका भेडाबाख्रामा ‘ओभर इटिङ’ रोग पुष्टि

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

सल्यानको छत्रेश्वरीमा मरेका भेडाबाख्रामा ‘ओभरइटिङ’ रोग पुष्टि भएको छ। छत्रेश्वरी गाउँपालिकामा मरेका बाख्रा र भेडाबाट संकलन गरिएको नमुना परीक्षण गर्दा ‘एन्टेरोटोक्सेमिया टाइप डी’ पोजेटिभ देखिएको हो।

छत्रेश्वरी–१, फारुलिबोटमा गत पुसमा किसानले पालेका ६ वटा बाख्रा र ३ वटा भेडा मरेका थिए। गाउँपालिकाले मरेका भेडा बाख्राको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, काठमाडौंमा परीक्षणका लागि पठाएको थियो। नमुना परीक्षण गर्दा एन्टेरोटोक्सेमिया टाइप–डी पोजेटिभ देखिएको हो।

परीक्षण प्रतिवेदनअनुसार ती पशुमा ‘ओभरइटिङ रोग‘ पुष्टि भएको गाउँपालिकाका पशु चिकित्सक डा. रुकेश घिमिरेले जानकारी दिए। उनका अनुसार ओभरइटिङ रोग अचानक राम्रोसँग मोटाएका र स्वस्थ देखिने भेडाबाख्रामा देखिने गम्भीर रोग हो। दाना, दूध वा हरियो घाँस एक्कासि धेरै खुवाउँदा, अचानक आहार परिवर्तन गर्दा तथा अत्यधिक कार्बोहाइड्रेटयुक्त खाना खुवाउँदा यो रोग लाग्ने गर्छ। 

आन्द्रामा स्वभाविक रूपमा रहेको ब्याक्टेरियाले टक्सिन (विष) उत्पादन गरेपछि जनावर एक्कासि मर्ने उनको भनाइ छ। यस प्रकारको रोग लागेका भेडा बाखा्रमा झट्का लाग्ने, घुमिरहने, टाउको ठोक्ने, असन्तुलन हुने, कहिलेकाहीँ अन्धोपन देखिने, पखाला लाग्ने जस्ता लक्षण देखिने र केही घण्टापछि वा एक दिनभित्रै पशुको मृत्यु हुन सक्ने डा. घिमिरेले जानकारी दिए।

रोगबाट पशुलाई जोगाउन नियमित खोप र सन्तुलित आहार नै मुख्य उपाय रहेको उनले बताए। एक्कासि धेरै मोटाएका भेडाबाख्रा सबैभन्दा बढी जोखिममा रहने भएकाले किसानले विशेष ध्यान दिनु आवश्यक रहेको घिमिरेको भनाइ छ।

सुझावित समाचार