सस्तोमा सुन किन्न बोलाएर ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक प्रहरीसमेत छन्।
गत १५ माघमा ललितपुरमा सुन पसल चलाउने विनोद लाम्दागेको ६० लाख रुपैयाँ कीर्तिपुरमा लुटपाट भएको हो। लुटपाटमा संलग्न प्रहरी हवल्दार कर्णबहादुर सुनारसहितलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। हवल्दार सुनार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।
पक्राउ पर्ने अन्यमा काभ्रेपलाञ्चोकका दिपक आलेमगर, रसुवाका विक्रम तामाङ, नुवाकोटका जीवन तामाङ छन्। उनीहरूले कीर्तिपुरको एकान्तमा सुन किन्न बोलाएर सुन पसलेले ल्याएको पैसा लुटेका थिए। आफूहरू प्रहरी भएको भन्दै उनीहरूले हत्कडी देखाएर पैसा लुटेका हुन्। पक्राउ परेकाउपर डाँका मुद्दामा अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।
