लुटपाटका लागि अवैध हातहतियार खरिद–बिक्री गर्ने दुईजना पक्राउ

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

लुटपाटका लागि अवैध हातहतियार किनबेच गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ  । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट अवैध हतियार र सञ्चार सेट (वाकीटकी)  किनबेच गर्ने  दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा लुटपाटका लागि अवैध हातहतियार खरिद गर्ने  सुन्दरहरैँचा नगरपालिका– २, बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र बिक्री गर्ने  वडा नं. ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ छन । 

मोरङ प्रहरी  प्रवक्ता डिएसपी  हरिनन्दन चौधरीका अनुसार विशेष सूचनाको आधारमा बेलबारी र  गछियाबाट खटिएको टोलीले  २६ माघ साँझ खरिद गर्ने लिम्बूको घरमा छापा मारेर मेडइन युएसए लेखिएको एक थान पेस्तोल, दुई थान बाओफेङ लेखिएको ह्यान्डसेट र भरुवा बन्दुकजस्तो देखिने एक थान काठको हतियार बरामद गरेको थियो । त्यसपछि लिम्बूको बयानका आधारमा बिक्री गर्ने गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका हातहतियार र खरिद–बिक्री गर्नेहरूको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सुझावित समाचार