नेपालमा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित समस्या कस्तो छ ?
नेपालमा महिलामा सबैभन्दा बढी हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा देखिन्छ । तर, पछिल्ला दिनहरूमा ‘स्क्रिनिङ’ बढेको छ । पाठेघरको मुखको पानी परीक्षण गराउने क्रम पनि बढेको छ । ह्युमन पापिलोमा भाइरस (एचपिभी) को पनि टेस्ट गराउने क्रम पनि बढेको छ । अहिले नेपाल सरकारले अभियानकै रूपमा किशोरीलाई एचपिभी खोप लगाउने व्यवस्था मिलाएको छ । यस्तो खोप लगाउने किशोरी ठुलो भएपछि उनीहरूलाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुँदैन । यसले गर्दा आगामी दिनमा यो समस्या घट्ने अनुमान लगाउन सकिन्छ । तर, अहिले जे–जति महिलामा यस्तो क्यान्सरको समस्या देखिन्छ, उनीहरू उपचारका लागि निकै ढिलो आइपुग्छन् । जसले गर्दा अप्रेसन या अन्य उपचारका विधि अवलम्बन गर्न पनि नसकिने अवस्था भइसकेको हुन्छ । त्यसैले, वेलावेलामा टेस्टहरू गराइरहनु नै यसबाट जोगिने सबैभन्दा उत्तम उपाय हो ।
अहिले किशोरीहरूलाई दिन लागिएको एचपिभी खोप किन आवश्यक छ ?
यो खोप किशोरीका लागि अति आवश्यक छ । ‘सिंगल डोज’का रूपमा राज्यका तर्फबाट नि:शुल्क उपलब्ध गराइने यो खोप लगाएका किशोरीलाई भविष्यमा पाठेघरको क्यान्सर हुँदैन । यो खोप यहाँ मात्र होइन, विश्वभर दिइन्छ । नेपालमा सन् २०१९ मै यो खोप ल्याउन बजेट व्यवस्थापन गरिएको थियो । तर, भ्याक्सिन उत्पादक कम्पनीले विश्वभर सप्लाई गर्नुपर्ने हुनाले नेपाललाई दिन सकेन । त्यतिखेर भ्याक्सिन नभएकाले मात्र केही ढिलो यो अभियान सुरु भएको हो । यो खोप लगाउन पाउनु किशोरीहरूको नैसर्गिक अधिकार नै हो ।
यसले भविष्यमा बाँझोपनको समस्या ल्याउन सक्छ भन्ने पनि सुनिन्छ नि ?
यो शतप्रतिशत भ्रामक कुरा हो । अहिलेसम्म भएको अध्ययनले यस्तो केही बताएको छैन । यो खोप सुरक्षित भएकैले त अन्य देशले पनि लगाइरहेका छन् नि !