आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’को खेलमा जिम्बाब्वेले सानदान सुरुवात गरेको छ। सोमबार भएको खेलमा जिम्बाब्वेले ओमानलाई आठ विकेटले पराजित गरेको हो।
श्रीलंकाको कोलम्बोमा पहिले ब्याटिङ गरेको ओमानले एक बलअघि नै अलआउट हुँदा १०३ रनको योगफल बनाएको थियो। ओमानका लागि विनायक शुक्लाले २८, सुफ्यान मेहमुदले २५ र नदिम खानले २० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जिम्बावेका रिचर्ड नगाराभा, ब्लेसिङ मुजारबानी र ब्राड इभान्सले समान तीन विकेट लिँदा सिकन्दर राजाले एक विकेट हात पारे।
जवाफी ब्याटिङ गर्ने क्रममा जिम्बाब्वेका ओपनर ब्रायन बेनेटले नटआउट ४८ रन जोडे। टाडिवानासे मारुमानी र ब्रेन्डन टेलरले क्रमशः २१ र ३१ रनको योगदान गरे।
ओमानका लागि सुफ्यान मेहमुदले दुई विकेट लिँदा अन्य खेलाडी विकेटविहीन रहे।