पर्यटन प्रवर्द्धनका लागि नेपाल राइडर्स मिट हुँदै

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी फागुन पहिलो साता ललितपुरमा आठौँ नेपाल राइडर्स मिट हुने भएको छ।

आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाका अनुसार फागुन २ देखि ४ गतेसम्म गोदावरी– २ स्थित चापखर्कमा नेपाल राइडर्स मिट हुने भएको हो। कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायतका मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुने संयोजक थापाले बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘मोटरबाइक राइडिङ’ महत्त्वपूर्ण साधन हुने बताए। थपलियाले यस किसिमका कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, एडभेन्चर टुरिज्म र क्रस–बोर्डर पर्यटन विस्तारमा योगदान पुग्ने बताए। 

आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल, द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेलगायतले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण उत्पादनको रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनीहरूले बाइक राइडमार्फत भ्रातृत्व विकासका साथै नेपालको संस्कृति प्रवर्द्धनमा पनि टेवा पुग्ने बताए।

कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने आयोजकको अपेक्षा छ। सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल पाँच सयभन्दा बढी राइडर्स सहभागी हुँदै छन्। नेपाल राइडर्स मिटले यसअघि बर्दिया, चितवन, मनाङलगायतका स्थानमा कार्यक्रम गरिसकेको छ।

सुझावित समाचार