आइसिसी टी–२० विश्वकपको डेब्यु खेलमा इटाली ७३ रनले पराजित भएको छ। सोमबार कोलकातामा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले चार विकेटको क्षतिमा २०७ रनको योगफल तयार गरेको थियो। १६.४ ओभारमा अलआउट भएको इटालीले १३४ रन मात्र बनाउन सक्यो।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले सर्वाधिक ८४ रन बनाए। ५४ बल सामना गरेका उनले १३ चौका र दुई छक्का प्रहार गरेका हुन्। यसैगरी, माइकल जोन्स ३७, रिकी बेरिङटन १५ र टम ब्रुस एक रन जोडेर आउट हुँदा नटआउट रहेका ब्रान्डन मिकमुलन र माइकल लिस्कले क्रमशः ४१ र २२ रनको योगदान गरे।
इटालीका अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मुथ्सले समान एक विकेट हात पारे। इटालीका लागि ड्राका निकै महँगो साबित भए। मात्र दुई ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए।
जवाफी ब्याटिङ गरेको इटालीका लागि बेन म्यानेन्टीले सर्वाधिक ५२ तथा ह्यारी म्यानेन्टीले ३७ रनको योगदान गरे। ओपनर जस्टिन मास्का गोल्डेन डक हुँदा अर्का ओपनर एन्थोनी मास्काले १२ बलमा १३ रन मात्र बनाउन सके। जेजे स्मुथ्स २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक चार विकेट हात पारे। मार्क वाटले दुई तथा ब्राड करी, ब्राड ह्विल र ओलिभर डेभिडसनले समान एक विकेट लिए।