महिला हिंसाविरुद्ध आत्मरक्षा तथा खेलकुद प्रशिक्षण सम्पन्न

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै आयोजना गरिएको सप्ताहव्यापी महिला हिंसाविरुद्ध आत्मरक्षा तथा खेलकुद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई काठमाडौंको बाल उद्धार माविमा प्रशिक्षण दिइएको हो। प्रमुख प्रशिक्षक मोहन विश्वकर्माका अनुसार पुनम फाउन्डेसनको आयोजनामा उक्त प्रशिक्षणमा एक सयभन्दा बढी छात्रा सहभागी थिए।

फाउन्डेसनकी अध्यक्ष पुनम सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, प्रा.डा. ज्योति राई, सरस्वती केसी, अशोक खड्कालगायतको उपस्थिति थियो।

कार्यक्रममा अतिथिहरूले प्रशिक्षणमा सहभागी छात्राहरूलाई आत्मरक्षा सिप र खेलकुदको महत्त्वबारे जानकारी गराउँदै उनीहरूलाई सशक्त र आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमको आवश्यकता औँल्याएका थिए। प्रशिक्षणमा सहभागी छात्राहरूलाई आत्मरक्षा प्रविधि तथा विभिन्न खेलकुदसम्बन्धी अभ्यास गराइएको थियो।

सो अवसरमा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले प्रशिक्षणमा सहभागी छात्राहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

सुझावित समाचार