सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा नसर्ने रोगसम्बन्धी पेन/पेन प्सस क्लिनिक र शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिन्डे नगरपालिकाको समन्वयमा भएको शिविरमा १९२ महिला र ६३ पुरुष गरी २५५ जनाले सेवा लिएका छन् ।
शिविरमा २९ जनाले डेन्टल, ३९ जनाको रक्तपरीक्षण, ४५ जनाले मुखको क्यान्सर लक्षण सेवा र अन्य १४२ जनाले ओपिडी सेवा लिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । ४५ जना मुख क्यान्सर लक्षण परीक्षण गर्दा दुईजनामा रिपाेर्ट पजिटिभ भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजाले जानकारी दिए ।
शिविरमा बोल्दै बनगाड कुपिन्डे नगरपालिकामा मेयर कर्णबहादुर बुढाथोकीले नागरिकलाई नजिकबाट सेवा प्रदान गर्नु पालिकाको दायित्व भएको बताए । उनले नगर अस्पतालमा स्वास्थ्य सामग्रीदेखि दक्ष जनशक्तिको समेत व्यवस्था भइसकेको बताए ।
यस्तै, स्वास्थ्य सेवा व्यवस्थापक डा. अर्जुनकुमार बुढा मगरले दूरदराज र ग्रामीण भेगमा रहेका र आर्थिक रूपमा कमजोर रहेका नागरिकलाई नसर्ने रोगका साथै यौनजन्य रोग तथा पाठेघरसम्बन्धी रोगहरूले ग्रसित हुनुपरेकाले उनको सहजताका शिविर सञ्चालन गरिएको बताए । उनले पछिल्लो समय सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट नागरिक बढी पीडित बन्नुपरेको बताए ।