टी–२० विश्वकपमा नेपाल र इंग्ल्यान्डबिचको खेलले के संकेत गरेको छ ?
विश्वकपमा इंग्ल्यान्डसँगको खेलमा नेपालले निकै राम्रो खेल्यो । नेपाली टोलीले इंग्ल्यान्डजस्तो बलियो टोलीविरुद्ध यो स्तरमा खेल्ने हामीले अपेक्षा गरेका थिएनौँ । आइतबारका दुवै इनिङमा नेपालले हरेक क्षण इंग्ल्यान्डलाई दबाबमा राख्यो । बलिङमा नेपालले जति राम्रो गर्यो, ब्याटिङमा पनि धेरै राम्रो गर्यो । इंग्ल्यान्डजस्तो अनुभवी र बलियो टोलीसित अन्तिम ओभरको अन्तिम बलसम्म जितको आशा कायमै राखेर फाइट गर्नु सामान्य होइन । प्राविधिक रूपमा हारे पनि हामीले जितेजत्तिकै भएको छ । यसका लागि नेपाली खेलाडी बधाईका हकदार छन् ।
विश्व क्रिकेटमा नेपाल कहाँ पुगेको छ ?
टी–२० फम्र्याटमा हेर्दा हामीले निकै राम्रो गरिरहेका छौँ । विगतको विश्वकपमा दक्षिण अफ्रिकासितको खेल र आइतबारको इंग्ल्यान्डविरुद्धको खेल हेर्दा पनि त्यो प्रस्ट देखिन्छ । त्यसैले पनि भन्न सकिन्छ– यो फर्म्याटमा हामी राम्रो लेभलमा पुगेका छौँ । टी–२०फर्म्याटमा अब हामी ‘अन्डर डग’ होइनौँ, ‘फाइटर’ टोली नै हौँ । तर, वान डे र टेस्ट फर्म्याटका लागि भने हामीले गर्न बाँकी धेरै छ । हामीसित अनुभवको पनि अभाव छ । त्यसैले, यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
नेपाली क्रिकेटको स्तर उकास्न हामीले के गर्न बाँकी छ ?
टी–२० फर्म्याटका लागि घरेलु म्याचहरू पनि छन् । अन्तर्राष्ट्रिय म्याचमा सहभागिताको अवसर पनि छ । एपिएल पनि छ । खेलाडीहरूले राम्रो पनि गरिरहेका छन् । तर, अझै पनि हामीसँग क्रिकेट संरचनाहरूको अभाव छ । वान डे र टेस्ट फम्र्याटका म्याचहरू पनि खासै छैनन् । खेलाडी उत्पादन भइरहने वातावरण नै छैन । काठमाडौंबाहिर पनि मैदानको खाँचो छ । क्यानको सुशासन पनि राम्रो हुनुपर्छ ।