ज्याकोव बेथेल र कप्तान ह्यारी ब्रेकको अर्धशतकप्रेरित इंग्ल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।
आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्डविरुद्ध टस हारेका थिए। टस जितेर सुरुमा ब्याटिङ गरको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
पावर प्लेमा नेपालले दुई विकेट लिन सफल भएको थियो। तर, इंग्ल्यान्डले भने अर्कोतर्फबाट आक्रमक ब्याटिङ गर्दै ५७ रन बनायो। पावर प्लेपछि पनि इंग्ल्यान्डले दमदार ब्याटिङ गर्दै बलियो स्कोर खडा गर्न सफल भयो।
इंग्ल्यान्डका लागि बेथेलले सर्वाधिक ५५ रन बनाएका थिए। ३५ बलमा समान चार चौका र छक्का हिर्काएका बेथेललाई दीपेन्द्रसिंह ऐरीले लोकेश बमबाट क्याच गराए। यसअघि २२ वर्षीय बायाँहाते ब्याटरले २८ बलमा समान चार चौका र छक्कासहित अर्धशतक बनाएका हुन्।
बेथेलले चौथो विकेटका लागि कप्तान ह्यारी ब्रुकसँग ४५ बलमा सर्वाधिक ७१ रनको साझेदारी गरेका थिए। कप्तान ह्यारीले ३२ बलमा ५३ रन बनाए। यसअघि उनले ३१ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक बनाएका थिए। अर्धशतक बनाएको अर्को बलमै उनी नन्दन यादवको बलमा डेब्यु खेलाडी शेर मल्लको हातबाट क्याचआउट भएका थिए। पहिलोपटक विश्वकप खेलिरहेका नन्दनले पहिलो खेलमै दुई विकेट लिए।
त्यस्तै, ओपनर जस बट्लरले २६ रनको योगदान गरेका थिए। विल ज्याक्सले अविजित १८ बलमा ३९ रन बनाए। उनले एक चौका र चार छक्का हिर्काएका थिए।
यसअघि शेर मल्लले डेब्यु बलमै विकेट लिए। दोस्रो ओभरको पहिलो बलमै उनले मात्र एक रन जोडेका फिल साल्डको विकेट सन्दीप लामिछानेबाट क्याच गराउँदै लिएका थिए। तेस्रो विश्वकपमा नेपालले पहिलो विकेट नै शेरको हातबाट पायो। शेर दोस्रो नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टिममा स्थान बनाउन सफल भएका थिए। शेरले आफ्नो पहिलो ओभरमा एक विकेट लिएर १४ रन खर्चिए।
दोस्रो विकेटको रूपमा नन्दन यादवले जस बट्लरलाई पेभिलियन फर्काए। उनले अनुभवी बट्लरलाई विकेटकिपर आरिफ शेखबाट क्याच गराएका हुन्। बट्लर १७ बलमा पाँच चौकासहित २६ रन हाने। नन्दनले पाँचौँ ओभरमा एक विकेट लिँदा मात्र पाँच रन दिए। पाँच ओभर इंग्ल्यान्डले मात्र ४४ रन जोडेको थियो।
खेलको तेस्रो विकेट सन्दीप लामिछानेको नाममा रह्यो। सन्दीपले टम ब्यान्टनलाई दुई रन बनाउँदा एलबिडब्लू धरापमा पारेका थिए। सातौँ ओभर लिएका आएका उनले आफ्नो पहिलो बलमै ब्यान्टनको विकेट लिएका हुन्।
पाँचौँ विकेटको रूपमा साम करनलाई दीपेन्द्रले १५.३ ओभरमा आउट गरे। करनले मात्र दुई रन जोडे। जोफ्रा आर्चरले एक रन जोडे।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र नन्दनले समान दुई विकेट लिए। राष्ट्रिय टिमबाट डेब्यु गरेका शेर र सन्दीपले समान एक विकेट लिएका थिए। करण केसी र कुशल भुर्तेल भने विकेटविहीन भएका थिए।
समूह ‘सी’मा दुवै टोलीको पहिलो खेल हो। समूहमा नेपालसहित वेस्टइन्डिज, इटाली र स्कटल्यान्ड छन्।
नेपाली क्रिकेटले अहिलेसम्म सामना गर्न लागेको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी इंग्ल्यान्ड हो। नेपाल र इंग्ल्यान्ड पहिलोपटक कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। यो प्रतिस्पर्धालाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबिचको लडाइँको रूपमा हेरिएको छ। हाल टी २० वरीयतमा इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ। नेपाल भने १६औँ स्थानमा छ।