काठमाडौंको मुटुमा रहेको टुँडिखेलको धुलोमा राजनीतिको राप मात्र होइन, क्रिकेटको प्रेम पनि मिसिएको छ। टुँडिखेलको खुला मैदानमा अचेल बालबालिकादेखि युवासम्म क्रिकेट खेल्दै गरेका भेटिन्छन्। कतिपय त खाली खुट्टा नै खेलिरहेका हुन्छन्। सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपाल अहिले तेस्रोपटक विश्वकपको मञ्चमा उभिँदै गर्दा यो सफलतामा टुँडिखेलको पनि नाम जोडिन्छ।
2026-02-08-05-12-55.jpeg)
रेडियोमा कमेन्ट्री सुनेर क्रिकेट कसरी खेल्ने भन्ने सिक्नुपर्ने त्यो समयमा युवाहरू यहीँ खेल खेल्थे। टुँडिखेलमा क्रिकेट खेलेका क्यानका पूर्वसचिव विनयराज पाण्डेले त्यो समयमा अहिलेजस्तो क्रेज नभएको बताउँछन्। ‘रेडियोमा क्रिकेट कमेन्ट्री सुनेर कसरी खेल्ने भन्ने सिक्नुपर्ने अवस्था थियो त्यतिवेला। टुँडिखेलमा मदन मेमोरियल नकआउट र विश्व ट्रफी भन्ने लिग सञ्चालन हुन्थ्यो। हप्ताको एक दिन शनिबार मात्र खेल हुन्थ्यो,’ उनी भन्छन्।
2026-02-08-05-13-06.jpeg)
यी दुई टुर्नामेन्ट कात्तिकदेखि सुरु भएर फागुनमा सकिन्थ्यो। पाण्डेका अनुसार त्यस वेला नेपालमा ५–६ वटा क्लब थिए। ‘म सचिव हुँदा खेलकुद परिषदबाट वार्षिक तीन हजार बजेट आउँथ्यो र हामीले जस्तोसुकै अवस्थामा पनि निरन्तरता दिँदै आयौँ,’ उनले भने।
2026-02-08-05-13-16.jpeg)
भारतमा भएको क्रिकेट विश्वकप पहिलोपटक टिभीमा हेर्न पाएका हौँ। त्यहाँबाट पनि क्रिकेट कसरी खेलिन्छ भनेर धेरै नेपालीले थाहा पाए। बल्ल नेपालमा अलिअलि क्रिकेटको क्रेज सुरु हुँदै गएको पाण्डेले बताए। पाँच दशकमा टुँडिखेलले धेरै खेल र खेलाडी उत्पादन गर्यो। यसबिचमा टुँडिखेलमा नेट प्राक्टिस गर्ने ठाउँको रूपमा विस्तार गर्नलाई धेरै कुरा पनि भए, तर सफल भएन। अहिले पनि त्यहाँ धेरै युवा क्रिकेट खेल्दै आएका छन्।
2026-02-08-05-13-25.jpeg)
अहिले क्रिकेटका धेरै एकेडेमी खुलेका छन्। व्यावसायिक क्रिकेटर बन्न एकेडेमीमा गएर सिक्न सुझाव दिँदै पाण्डे भन्छन्, ‘राज्यले सके र चाहे खुला ठाउँहरूलाई खेल क्षेत्रको अभ्यासस्थलको रूपमा विकास गर्न जरुरी छ। धेरै खेलाडी आफैँ सिकेर पनि राम्रो स्थानमा पुगेकोमा खुसी लाग्छ। मेरो समयको पाँच दशकको दुःख अहिलेको परिणाम हो।’
2026-02-08-05-13-33.jpeg)
अहिले राष्ट्रिय टोलीमा पर्न सफल केही खेलाडीहरूले पनि टुँडिखेलबाटै क्रिकेट करिअर सुरु गरेका उनी बताउँछन्। ‘टुँडिखेल अहिले पनि भविष्यका खेलाडी उत्पादन गर्ने थलोको रूपमा छ,’ पूर्वसचिव पाण्डेले भने।
टुँडिखेलमा क्रिकेट खेल्दै गर्दा भेटिएका हरि खड्का ६ वर्षदेखि लगातार यहाँ क्रिकेट खेलिरहेका छन्। ब्याचलर चौथो वर्षमा अध्ययन गरिरहेका खड्का क्रिकेट खेल्न गोंगबुबाट सधैँ टुँडिखेल आउँछन्। कलेजको परीक्षाबाहेक दैनिकजसो क्रिकेट खेल्न उनी यहाँ आउँछन्। आफूसँग खेलेका केही साथीहरू अहिले राष्ट्रिय टिमबाट खेलिरहेका उनले बताए। ‘केही भाइहरू अन्डर– १९ टिमबाट खेलिरहेका छन्,’ प्रफुल्लित हुँदै उनले भने।
2026-02-08-05-33-51.jpeg)
टुँडिखेलमै क्रिकेट खेलिरहेको अवस्थामा भेटिएका महोत्तरीका अमनकुमार झा पेसाले कुकुर ट्रेनर हुन्। पछिल्लो दुई वर्षदेखि उनी बिदाको समयमा साथीहरूसँग क्रिकेट खेल्न त्यहाँ पुग्छन्। काठमाडौंमा धेरै खुला ठाउँ नभएकाले पनि खेल्ने ठाउँको कमी भएको झा बताउँछन्।
अर्का रुस्तम आलम पनि टुँडिखेलमा क्रिकेट खेल्दै थिए। करिब चार महिनादेखि उनी यहाँ आएर क्रिकेट खेलिरहेका छन्। एक्लै आए पनि खेल खेल्न कुनै न कुनै टिम बन्छ। ‘कोही चिन्न नपर्ने अनि खेलेपछि साथी पनि बन्ने यो क्रिकेट क्रेज अचम्मको रहेछ,’ उनले भने।
2026-02-08-05-34-38.jpeg)