भारतले पोखरामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ महिला च्याम्पियनसिप २०२६ को उपाधि हात पारेको छ। पोखरा रंगशालास्थित फुटबल स्टेडियममा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ०–४ को फराकिलो गोल अन्तरले पराजित गर्दै भारतले उपाधि हात पारेको हो।
लिग चरणका खेलमा अपराजित बंगलादेश फाइनलमा भने पराजित भएको हो। यसअघि लिग चरणको खेलमा बंगलादेशले भारतालाई २–० गोलले पराजित गरेको थियो। फाइनल खेलमा बंगलादेश आफ्नो अपराजित यात्रा जारी राख्ने र भारत लिगमा भएको हारको बदला लिँदै उपाधि हात पार्ने उद्देश्यसहित मैदान उत्रेको थियो। अन्ततः भारले आफ्नो उद्देश्य पूरा गर्दा बंगलादेश भने उपविजेतामा सीमित बन्न पुगेको थियो ।
सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन गरिएको च्याम्पियनसिपको शीर्ष स्थान रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन। यसअघि लिगका खेल सकिँदा अपराजित रहेको बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा र भारतले दुईमा जित र एकमा हारसँगै ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहँदै अन्तिम दुईमा स्थान बनाएका थिए।
फाइनलमा खेलमा खेलको ४२औँ मिनेटमा प्लेयर अफ द म्याच जुलान नङम्याथिमले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। प्रतिका ब्रामनले दिएको पासलाई उनले उपयोग गरेकी थिइन्। पहिलो हापमा एक गोलले अग्रता लिएको भारतले दोस्रो हापमा थप तीन गोल गरेको थियो।
बगलादेशकी अरपिता विश्वास अरपिताले भारतकी अल्भादेवी सेन्जमलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई उपयोग गर्दै खेलको ६३औँ मिनेटमा एलिजाबेद लाक्राले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन्। ६८ औँ मिनेटमा पर्ल फर्नान्देजले गोल गर्दै टोलीको अग्रता तेब्बर पारेकी थिइन्। विपक्षी किपरले समात्ने क्रममा फुत्केको बललाई उनले उपयोग गर्दै पोस्टको दिशा दिन सफल भएकी थिइन्। अल्भादेवी सेन्जमले दिएको पासलाई उपयोग गदै खेलको ८३औँ मिनेटमा अन्विता रघुरमनले गोल गदै टोलीको अग्रता चोब्बर पारेसँगै भारतले उपाधि चुकेको थियो ।
यसअघि लिग चरणमा भएका खेलको भन्दा कमजाेर प्रदर्शन गरेको बंगलादेशलाई भारतलाई सुरुदेखि नै दबाबमा राखेको थियो। बंगलादेशले केही अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेको थिएन। च्याम्पियनसिपमा विद्यागत रूपमा बंगलादेशकी अल्पी अख्तरले उत्कृष्ट खेलाडीसँगै सात गोलका साथ सर्वाधिक गोलकर्ता, भारतकी मुन्नी उत्कृष्ट गोलरक्षक, अनुशासित टिम भारत घोषित बन्यो।
१७ माघदेखि सुरु च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार देशले प्रतिस्पर्धा गरेका गरेका थिए। सहभागी चार टोलीमध्ये एकमा जित र दुईमा पराजित भएको नेपालसँगै खेलेको तीन खेलमै पराजित भुटान भने प्रतियोगिताबाट बाहिरिएका थिए।