- हेर्दा भव्य र झिलिमिली देखिने उपत्यका भित्रभित्रै रैथाने सिप पुस्तान्तरणको अभावमा संघर्ष गरिरहेको छ
काठमाडौं उपत्यका संस्कृति, परम्परा र सम्पदाले मात्रै सम्पन्न छैन, हजारौँ वर्षदेखि यहाँका रैथानेले विकास गरेका मौलिक सिप र कलाले पनि सम्पन्न छ । तर, ती सिपहरू आधुनिकताको बढ्दो प्रवेशसँगै संकटमा पर्दै गएको विज्ञले भनिरहेका छन् । ती सिपसँगै नेपालको अमूल्य संस्कृति धरापमा पर्दै जाने उनीहरूले चिन्ता व्यक्त गरेका छन् । आधुनिकताको अनुकरणसँगै ती रैथाने सिपहरू ओझेल पर्दै गएका छन् । हेर्दा भव्य र झिलिमिली देखिने उपत्यका भित्रभित्रै रैथाने सिप पुस्तान्तरणको अभावमा संघर्ष गरिरहेको छ ।
प्रविधिले ओझेल पार्यो हातले कोरेको चित्र
भक्तपुर थलाछेंका कृष्णराम चित्रकार ८४ वर्षका भए । उमेरले वृद्धावस्थामा पुर्याइसक्यो । तर, चित्र कोर्ने हात भने अझै काँपेका छैनन् । उनका हातले सात दशकभन्दा बढी समयदेखि चित्र कोर्दै आएका छन् । भक्तपुरमै जन्मिए–हुर्किएका कृष्णरामका लागि चित्रकला नयाँ पेसा होइन, पुर्ख्यौली पहिचान हो । ‘मेरो बाजे पनि चित्र बनाउनुहुन्थ्यो, बुबाले पनि यही गर्नुभयो,’ उनी सम्झन्छन् । एक्लो छोरा भएकाले बुबाको पेसा अँगाल्नु उनका लागि बाध्यता होइन, गर्व थियो । १३–१४ वर्षकै उमेरदेखि कुची समातेका चित्रकारले सानैदेखि लक्ष्मी, भगवती र नागपञ्चमीका चित्र बनाउन सिके ।
कृष्णराम सुरुमा देवताका साना चित्र बनाउँथे । पछि घर–घरका भित्तामा चित्र कोर्न थाले । भक्तपुरका पोखरीवरपर उनका चित्र फैलिएका छन् । ‘मैले देउताको मात्रै चित्र बनाउँछु,’ उनी भन्छन् । उनी कुमारी, विष्णु, अष्टमात्रिकाका चित्रहरू बनाउँछन् । उनका चित्र स्थानीयले मात्र होइन, विदेशीले पनि रुचाए । अघिपछि भन्दा दसैँ–तिहारमा उनको चित्र राम्रो बिक्री हुन्थ्यो ।
पहिले चित्र बनाउन रङ पनि उनी आफैँ तयार गर्थे । उनी ढुंगा पेलेर रङ निकाल्थे, छालाबाट ‘सरेस’ बनाउँथे । ‘आजजस्तो बजारमा तयार रङ पाइँदैनथ्यो,’ उनी भन्छन् । मिहिनेत धेरै थियो । उनका अनुसार पहिले चित्रकला केवल कला मात्र थिएन, उपचार, विश्वास र संस्कार पनि थियो । ‘जनै खटिराजस्ता रोग लाग्दा शरीरमै चित्र कोर्ने चलन थियो । चित्र नलेखेसम्म निको हुँदैन भन्ने विश्वास थियो,’ चित्रकार सम्झन्छन् । हजुरबुबा र बुबाले पनि यही सिपबाट जीविका चलाए ।
तर, समय फेरिँदै गयो । प्रविधिको विकाससँगै कम्प्युटरबाट प्रिन्ट भएका चित्र बजारमा आए । ‘प्रिन्ट गरेको चित्र राम्रो देखिन्छ,’ उनी भन्छन्, ‘तर, हातले लेखेको चित्र जिउँदो हुन्छ । त्यो मनबाट निस्किन्छ ।’ मेसिनबाट बनेको चित्रमा आत्मा नहुने उनको दाबी छ । तर, बजारले आत्माभन्दा चमक खोज्न थाल्यो । बजारको चमकधमकमा परम्परागत चित्रकला ओझेल पर्दै गयो ।
प्रविधिको विकासले परम्परागत चित्रकलामा गहिरो असर पारेको उनको निष्कर्ष छ । पुस्तान्तरणको सवालमा कृष्णराम चिन्तित छन् । उनका चार छोरामध्ये अहिले एकजनाले मात्र चित्र बनाउँछन् । त्यो पनि नियमित होइन । नाति पुस्ताको चासो देखिँदैन । टोलका अन्य चित्रकारले पनि पेसा छोड्दै गएको उनी सुनाउँछन् । ‘चित्र बनाएर मात्रै अब बस्न सकिँदैन,’ उनी भन्छन्, ‘हाम्रो पुर्ख्यौली पेसा ओझेल पर्दै गएको छ ।’
कैँचीमा अडिएको पुर्ख्यौली पहिचान
भक्तपुर, थलाँछेमा निर्मल नापितको सैलुन छ । ऐनाअगाडि उभिएर ४५ वर्षे निर्मल नापितले आज पनि कपाल काट्छन् । उनको हातले केवल कैँची होइन, नेवारी समाजको एउटा हराउँदै गएको परम्परा पनि सम्हालिरहेको छ । निर्मलका लागि कपाल काट्नु नयाँ पेसा होइन । यो पुर्ख्यौली जिम्मेवारी हो । ‘मेरो बाजेले पनि यही गर्नुभयो, बुबाले पनि, उनी भन्छन्, ‘मैले पनि छोडिनँ ।’ नापित समुदाय पुस्तौँदेखि कपाल काट्ने काममा आबद्ध रहँदै आएको छ । कपाल काट्ने मात्र होइन, जडीबुटीको ज्ञानसमेत बोकेको यो समुदाय नेवारी समाजको संस्कारसँग गहिरो रूपमा गाँसिएको उनी सुनाउँछन् ।
पहिले नेवारी समाजभित्र जजमानी प्रथाअनुसार कपाल काट्ने चलन थियो । ‘वर्षभरि सेवा गरेबापत वार्षिक पारिश्रमिक छुट्याइन्थ्यो । कपाल काटेबापत नगद होइन, अन्न पाइन्थ्यो । धान, गहुँ, मकै, आलु—किसानले जे फलायो, त्यही पारिश्रमिक हुन्थ्यो,’ उनी सम्झन्छन् । उनका अनुसार विवाह, व्रतबन्ध, गुफा, श्राद्धजस्ता संस्कारमा नापितलाई बोलाउनु सामाजिक नियमजस्तै थियो । यो सेवा मात्र होइन, सम्बन्धको निरन्तरता रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘तर, त्यो संस्कार समयसँगै भत्कँदै गयो । नगदमा कारोबार हुन थालेपछि जजमानी प्रणाली हरायो । त्यससँगै नापित समुदायको परम्परागत पेसा पनि ओझेलमा पर्न थाल्यो ।’ अहिले भक्तपुरमा परम्परागत रूपमा कपाल काट्ने नापितको संख्या एकदमै कम हुँदै गएको उनी सुनाउँछन् । निर्मलको टोलमा पाँच घर नापित छन् । तर, अहिले यो पेसा अँगालेर बसेका उनी मात्र हुन् । समयसँगै उनले पनि आफूलाई बदलेका छन् । आधुनिक सैलुन खोलेर नयाँ तरिकाले काम गरिरहेका छन् । तर, उनीसँग अझै पुरानो सिपको छाप छ ।
‘म पछि यो पेसा कसले गर्छ, थाहा छैन,’ उनी भन्छन्, ‘छोराले यही पेसा रोज्ला भन्ने विश्वास छैन ।’ उनका अनुसार कपाल काट्नु पनि कला हो । तर, नयाँ पुस्तालाई यसमा जोड्न सकिएको छैन । सिपलाई आधुनिकसँग जोड्न नसक्दा पेसा अर्काको हातमा गएको उनको ठहर छ । ‘हामीले छोड्यौँ, बाहिरकाले समाते,’ उनी भन्छन्, ‘आज भारतीय कामदारदेखि अन्य समुदायका युवासम्म कपाल काट्ने पेसामा छन् । हाम्रा चाहिँ काम नपाएर भौँतारिरहेका छन् ।’ परम्परागत नापित सिप कमजोर बन्दै गएकोमा उनको दुखेसो छ । आधुनिक बजार, प्रविधि र प्रतिस्पर्धाले परम्परागत नापित पेसालाई झन् दबाबमा पारेको उनी बताउँछन् ।
रङ हराउँदा रञ्जितकारको पहिचान पनि हरायो
कुनै वेला भक्तपुरको थलाँछे रङ उत्पादनको केन्द्र मानिन्थ्यो । ओखरको बोक्रा, जडीबुटी, ढुंगा र माटो प्रयोग गरेर कपडा र कागज रंग्याउने रञ्जितकार समुदायको सिप सांस्कृतिक अर्थतन्त्रसँग गाँसिएको थियो । भक्तपुरका पुराना गल्लीमा रङ लगाएको सुतीको धागो सुकाइन्थ्यो । सुकाइएका धागोमा रातो, निलो, हरियो र पहेँलो रङले त्यहाँको गल्ली पनि रंगीबिरंगी देखिन्थे । ती रङ मात्र थिएनन्, नेवारी समाजको सांस्कृतिक पहिचान पनि थिए । रङसँगै हराउँदै छ, रञ्जितकार समुदायको पुस्तौँदेखिको सिप र पहिचान ।
४६ वर्षे मुकुन्द रञ्जितकार भक्तपुरमै जन्मिए–हुर्किएका हुन् । उनको बाल्यकाल रङकै गन्धसँग जोडिएको छ । ‘सानैदेखि घरमै रङ बनाउँदै आएको देखेँ, उनी भन्छन्, ‘हजुरबुबा, हजुरआमा, बुबा–आमाले त्यही काम गर्नुहुन्थ्यो ।’ उनका अनुसार रङ बनाउने र धागो रंग्याउने काम रञ्जितकार समुदायको पुस्तौँदेखि गर्दै आएको पेसा थियो ।
‘पहिले बनाएको रङ सुती धागोमा प्रयोग हुन्थ्यो । स्वदेशमा मात्र होइन, विदेशसम्म धागो र कपडा पठाइन्थ्यो । त्यतिवेला घरमै बसेर काम हुन्थ्यो, आम्दानी पनि राम्रै थियो,’ उनी भन्छन्, ‘एक मुठा धागोमा चारपाँचवटा रङ निकाल्ने सिप थियो । यो केवल काम होइन, कला पनि थियो ।’
उनका अनुसार बाजेका पालामा ओखरको बोक्रा कुटेर, माटोको भाँडामा भिजाएर प्राकृतिक रङ बनाइन्थ्यो । ‘ती रङले कपडामा छुट्टै जीवन भथ्र्यो । ब्स्तिारै बजारबाट तयारी रङ किनेर ल्याउने चलन आयो,’ उनी भन्छन्, ‘काम घट्दै गयो । भारत र चीनबाट तयारी रङ र धागो आयात हुन थाल्यो ।’ कोभिड–१९ महामारीले पेसामा ठुलो धक्का दिएको मुकुन्द सुनाउँछन् । ‘रङ बनाउने हाम्रो घरमै फ्याक्ट्री थियो । कोभिडपछि फ्याक्ट्री बन्द भयो,’ उनी भन्छन् । पुस्तौँदेखि गर्दै आएको सिप प्रयोग गर्न नपाउँदा उनी दु:खी छन् । अहिले उनी जीविकाका लागि अन्य काम गर्न बाध्य भएका छन् ।
यस्तै पीडा बोकेर बसेका छन्, भक्तपुरकै सुरज रञ्जितकार । उनी पनि कपडामा रङ लगाउने पुर्ख्यौली पेसामै आबद्ध थिए । ‘हामी आफैँ साहु थियौँ, अरूलाई रोजगार पनि दिएका थियौँ,’ उनी भन्छन्, ‘तर अहिले काम बन्द छ ।’ मानिसले परम्परागत कपडा किन्न छाडेपछि सिपको आधार नै भत्किएको उनी बताउँछन् । ‘नेवारी हाकुपटासीलाई विदेशी कपडाले विस्थापित गर्यो,’ उनी भन्छन्, ‘विदेशी कपडा आयो, हाम्रो कपडा बन्नै छाड्यो । कपडासँगै रङ बनाउने सिप पनि ओझेलमा पर्यो ।’
आज मुकुन्द र सुरज दुवै परम्परागत रङ बनाउने कामबाट टाढा छन् । घर चलाउन अन्य काम गरेर गुजारा चलाइरहेका छन् । बजार, संरक्षण र पुस्तान्तरणको अभावमा सिप संकटमा पर्दै गएकोमा उनीहरू चिन्तित छन् ।
मूर्ति बनाउन माटो किन्नुपर्ने
भक्तपुरको ठिमीमा जन्मिएका गणेशराम प्रजापति सानैदेखि माटोसँगै हुर्किए । माटोका भाँडा बनाउने पेसा उनले निरन्तरता दिँदै आएका छन् । तर, प्लास्टिक र सिमेन्टका गमलाले माटोका गमलालाई विस्थापित गरेपछि बजार खुम्चिँदै गएको उनको अनुभव छ । ‘अहिले यो पेसाले खानलाउन मात्रै पुग्छ,’ उनी भन्छन्, ‘पहिलेजस्तो आम्दानी हुँदैन ।’
गणेशराम आज पनि पुरानै विधिबाट भाँडा बनाउँछन् । पराल र छवाली पोलेर, खरानीले छापेर भाँडा तयार पार्ने चलन उनले छाडेका छैनन् । आधुनिक भट्टीमा काठ बालेर पोल्ने प्रविधि बढे पनि उनी चार दिनसम्म खरानीले पुरेर भाँडा पकाउँछन् । यसरी बनेका भाँडा अझ बलिया हुने उनी बताउँछन् । तर, दु:ख यतिमै सीमित छैन । ‘पहिले सित्तैंमा पाइने माटो अहिले महँगोमा किन्नुपर्छ,’ उनी भन्छन् । यही कारणले नयाँ पुस्ता यो पेसातर्फ आकर्षित नहुने उनको ठम्याइ छ ।
यस्तै कथा भक्तपुर दरबार क्षेत्रका सहदेव प्रजापतिको पनि छ । पाँच दाजुभाइमध्ये कान्छा उनी मात्रै भाँडा बनाउने पेसामा टिकिरहेका छन् । ‘अरू दाजुभाइले बिस्तारै छोडे,’ उनी भन्छन्, ‘तर मलाई अरू पेसा गर्न मन लागेन । बुबाको पेसालाई साथ दिइरहेको छु ।’
आधुनिकताको मारमा पाटनका मूर्तिकार
पाटनको महाबौद्धमा पुर्ख्यौली पेसा अँगाल्दै आएका मूर्तिकार हुन्, रवि शाक्य । नेवारी धातुकलाको साक्षी मानिन्छ शाक्य समुदाय, जसको एउटा प्रतिनिधि हुन् उनी । ‘हामी लिच्छविकालदेखि नै मूर्तिको कालिगढ हौँ,’ उनी भन्छन्, ‘हामी पहिलेदेखि धातुकलामा लाग्दै आएका हौँ । शिल्पकलाका सबै काम हाम्रो समुदायले गर्दै आएको छ ।’
पुर्ख्यौली पेसा मात्र नभएर कलाप्रतिको रुचिले नै आफू मूर्तिकार बनेको बताउँछन् शाक्य । ‘पुर्खा नै मूर्तिकार भएपछि यही काममा लागेँ । सानैदेखि मूर्ति बनाउँदै हुर्किएँ । तर, समय फेरिएको छ । आधुनिकीकरणले मूर्तिकारको काम सजिलो बनाइदिएको छ, उनी भन्छन्, ‘आधुनिक प्रविधिले काम सहज बनाएको छ । तर, पुरानो शैली, पुरानो पद्धति हराउँदै गएको छ । मौलिक प्रक्रिया नै मेटिँदै जान थालेको छ, यही मेरो चिन्ता हो ।’
शाक्यका अनुसार परम्परागत मूर्ति निर्माण प्रक्रिया केवल सिप होइन, इतिहास हो । ‘पुरानो पद्धतिले बनाएको मूर्तिले इतिहास बोकेको हुन्छ । आधुनिक पद्धतिले बनाउनु भनेको इतिहास मेटाउनुजस्तै हो,’ उनले भने ।
मौलिक पद्धति जोगाउन शाक्यले नयाँ पुस्तालाई परम्परागत तरिकाले मूर्ति बनाउन सिकाइरहेका छन् । बजार अभाव, कच्चा पदार्थ र नयाँ पुस्ताको चासो नहुँदा पुर्ख्यौली सिप क्रमश: हराउने जोखिम देख्छन् उनी । संरक्षण र सम्मानविना यी सिप इतिहासका पानामा सीमित हुने उनको अनुमान छ । ‘मैले पनि स्कुल पढ्दै सिकेको हुँ । हाम्रो समुदायका महिला पनि मूर्ति बनाउन उत्तिकै निपूण हुन्छन् । तर, मेरो पुस्तापछि यो सिपले निरन्तरता पाउने सम्भावना कम हुँदै गएको छ ।’
संकटमा तोरी मिल
काठमाडौंको ल्याकुसानिवासी श्यामरत्न मानन्धरको पुर्खाैली पेसा तोरीको तेल बनाउने हो । उनका अनुसार उपत्यकामा करिब २५० वर्षअघिदेखि तोरीको तेल उत्पादन मानन्धर समुदायले गर्थे । ‘मल्लकालीन समय मै काठमाडौंमा तोरी मिल स्थापना भएको थियो । मानन्धर समुदायले कुमारी जात्रा सुरु भएदेखि नै कुमारी घर र तलेजु भवानी मन्दिरसँग आबद्ध तोरी पेल्ने काम गर्दै आएको थियो । काठमाडौंकै पहिलो तोरी मिल यही हो,’ उनी भन्छन् ‘पहिले तोरी पेलेर प्रत्येक महिना एक पाथी तेल तलेजु मन्दिरमा चढाउने चलन थियो ।’
तर, समयसँगै परम्परागत काठको चेपुवाबाट तोरी पेल्ने विधि हराउँदै गएको छ । तोरी भुटेर पेल्ने पुरानो प्रविधिलाई आधुनिक मेसिनले विस्थापित गरिसकेको छ । ‘चेपुवाबाट पेलेको तेलको स्वादै फरक हुन्थ्यो, गुणस्तर पनि बेग्लै हुन्थ्यो,’ मानन्धर भन्छन् ‘तर जनशक्ति धेरै चाहिने र आधुनिक प्रविधि भित्रिएपछि त्यो परम्परा जोगाउन सकिएन ।’ २०७२ को भूकम्पपछि काठमाडौंको तोरी मिल सञ्चालनमा आउन सकेको छैन ।
तोरी खेतीको अवस्था पनि उस्तै छ । पहिले काठमाडौं उपत्यकामै फलेका तोरी प्रयोग हुने गरेकोमा अहिले स्वदेशी तोरी पाउनै कठिन भएको मानन्धरको भनाइ छ । ‘नेपालको तोरीको स्वाद अर्कै हुन्थ्यो । अहिले विदेशबाट आएको तोरी प्रयोग गर्नुपरेको छ,’ उनी भन्छन् ।
ललितपुरको खोकना तोरीको तेलका लागि परिचित ठाउँ हो । ‘दुई–दुई सय वर्षअघिदेखि खोकनामा तोरीको तेल उत्पादन हुँदै आएको छ,’ खोकनाका स्थानीय नन्दराम डंगोल भन्छन्,‘हजुरबुबादेखि सुरु भएको यो पेसालाई जोगाउँदै आएको छु ।’ आधुनिक मेसिन आए पनि उनले पुरानो प्रविधिलाई निरन्तरता दिइरहेका छन् । डंगोल विगत २७ वर्षदेखि यही पेसामा संलग्न छन् । उनका अनुसार पहिले खोकनामा तोरी खेती पनि व्यापक हुन्थ्यो । तर, अहिले तोरीखेती हराउँदै गएको छ । ‘अहिले तोरी भारतबाट समेत ल्याउनुपरेको छ,’ उनी भन्छन् ।
संग्रहालयमा मात्र सीमित
संस्कृतविद् प्राडा सोमप्रसाद खतिवडाका अनुसार हिजो नेवारी समुदायमा वर्ग र समुदायअनुसार फरक–फरक पेसा व्यवस्थित रूपमा बाँडिएका थिए । ‘०४६ सालअघिसम्म उपत्यकामा कपाल काट्ने, कपडा सिलाउनेजस्ता काम पनि नेवारी समुदायले नै गर्थे । त्यतिवेला उपत्यकामा बाहिरका मानिसको प्रवेश न्यून थियो । पछि बाहिरबाट आएका समुदायले आफ्नै सिप लिएर आएपछि परम्परागत नेवारी सिप ओझेलमा पर्न थाले,’ उनी भन्छन्, ‘बाहिरबाट आएका पेसागत समुदायले नयाँ सिप र व्यवसाय भिœयाउँदा प्रतिस्पर्धा बढ्यो, जसको असर नेवारी समुदायका परम्परागत पेसामा पर्न गयो ।’ उनको अनुभवमा काठमाडौं उपत्यकामा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका परम्परागत केही रैथाने सिप हराइसके ।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार नेवारी रैथाने सिप केवल आर्थिक क्रियाकलाप होइनन्, ती सामाजिक संरचना र सांस्कृतिक अभ्याससँग गाँसिएका छन् । तर, राज्यले तिनलाई सिप होइन, पुरानो पेसाका रूपमा मात्र हेर्दा समस्या आएको छ । ‘नेवारी रैथाने सिपहरू पारिवारिक रुपमा मात्रै हस्तान्तरण हुँदै आएका छन् । औपचारिक शिक्षा प्रणालीसँग नजोडिँदा नयाँ पुस्तामा आकर्षण घट्दै गएको छ,’उनी भन्छन्,‘विद्यालय तहदेखि नै परम्परागत सिपबारे ज्ञान दिन सकिएको भए पुस्तान्तरण सहज हुन्थ्यो । सिपलाई सम्मानजनक रोजगारीका रूपमा स्थापित गर्न सकेनौँ । यही नै सबैभन्दा ठुलो असफलता हो ।’
परम्परागत सिप संरक्षणका नाममा तालिम, गोष्ठी र प्रदर्शनी हुन्छन्, तर दीर्घकालीन बजार र जीविकोपार्जन सुनिश्चित हुन सकेको छैन । सम्पदाविद् रवीन्द्र पुरी यसलाई नीतिगत कमजोरीसँग जोडेर हेर्छन् । ‘हामी संस्कृतिको कुरा धेरै गर्छाैं, तर संस्कृति बाँच्ने आधार अर्थतन्त्रलाई बेवास्ता गर्छौं,’ उनी भन्छन्, ‘सिप बाँच्नका लागि त्यसबाट सम्मानजनक आम्दानी हुनुपर्छ । हाम्रा रैथाने सिप संग्रहालयमा मात्र सीमित छन् ।’ पुरीका अनुसार नेवारी सिपलाई पर्यटन, सहर र स्थानीय अर्थतन्त्रसँग जोड्न धसकिने सम्भावना अझै बाँकी छ । भक्तपुर, पाटनजस्ता सहरलाई जीवित सांस्कृतिक सहर बनाउने हो भने त्यहाँका रैथाने सिपलाई केन्द्रमा राख्नुपर्ने पुरीको मत छ ।