- सांघाईमा बिताइरहेको यो समय केवल अध्ययनको अनुभव मात्र होइन, जीवनलाई नयाँ दृष्टिले हेर्ने सिकाइ पनि भइरहेको छ
चीनको सांघाई सहरलाई आज नजिकबाट नियाल्दा लाग्छ, कहिलेकाहीँ जीवनले हामीलाई कल्पनाभन्दा धेरै टाढा ल्याइपुर्याउँछ । सांघाईमा बिताइरहेको समयसँगै मेरो सोच, बुझाइ र जीवनप्रतिको दृष्टिकोण पनि बिस्तारै फराकिलो हुँदै गएको छ । किताब, समाचार र सामाजिक सञ्जालमा देखिने सांघाई र यहाँ प्रत्यक्ष अनुभूत हुने सांघाईबिच गहिरो भिन्नता रहेछ । यहाँ आएपछि मात्र थाहा भयो, यो सहर केवल अग्ला भवन र चम्किला सडकको नाम मात्र होइन, यो अनुशासन, प्रविधि र निरन्तर परिश्रमको प्रतिफल पनि हो ।
सांघाई आइपुगेका सुरुवाती दिनमा सबै कुरा अपरिचितझैँ लागे । भाषा, संस्कृति, मानिसको बोलिचाली, जीवनशैली, सबै नयाँ । कहिलेकाहीँ मन अत्तालियो पनि । पहिलोपटक घर–परिवारबाट टाढा बस्नुपरेकाले एक्लोपनको डर, परिवार र साथीभाइबाट टाढिँदा हुने भावनात्मक पीडा अनि भविष्यप्रतिको आशा, यी सबै भावनाले एकसाथ अचेटेका थिए । तर, समयसँगै ती भावना डरबाट अनुभव र अनुभवबाट आत्मविश्वासमा बदलिँदै गएका छन् ।
विश्वप्रसिद्ध सांघाई जिओ टोङ विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाउनु मेरा लागि गर्वको विषय हो । विश्वविद्यालयको वातावरण, शैक्षिक अनुशासन र संरचना हेर्दा यहाँको शिक्षा प्रणालीप्रति गहिरो सम्मान जाग्छ । यहाँ शिक्षक कक्षा सुरु हुनुअगावै उपस्थित भएर विद्यार्थीलाई पर्खिरहेका हुन्छन् । हामी क्याम्पसमा शिक्षक कहिले आउलान् भनेर कुर्ने संस्कृतिमा हुर्केका विद्यार्थीका लागि यो अनुभव साँच्चै फरक र प्रेरणादायी छ । पेसागत इमानदारी, समयपालन र जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने कुरा यहाँ आएपछि बुझ्दै छु ।
सांघाईलाई नजिकबाट नियाल्दा यो केवल एउटा सहर मात्र होइन, आधुनिक चीनको प्रतीक पनि हो जस्तो लाग्छ । प्रविधि, विकास र अर्थतन्त्रको केन्द्र मानिने यो सहर किताबमा पढेकोभन्दा धेरै अगाडि छ । यो विकास कुनै सपना होइन, दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने यथार्थ हो । चीनले पछिल्ला दशकमा गरेको तीव्र आर्थिक प्रगति सांघाईले स्पष्ट देखाइदिएको छ ।
यहाँ शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटनदेखि हरेक क्षेत्र प्रविधिसँग जोडिएका छन् । विश्वविद्यालय यति विशाल रहेछन् कि हाम्रो सानो नगरपालिका सजिलै अटाउन सक्ने ! सवारीसाधनविना त्यहाँका विभिन्न संकायका भवनमा पुग्न थुप्रै घन्टा लाग्ने रहेछ । त्यसैले, विश्वविद्यालय परिसरभित्रै गाडी चल्छन्, त्यो पनि नि:शुल्क । सार्वजनिक स्थान अत्यन्त सफा, व्यवस्थित र योजनाबद्ध छन्, जहाँ हरेक संरचना मानिसको सहजता, सुरक्षा र पहुँचलाई ध्यानमा राखेर बनाइएका देखिन्छन् । फरक क्षमता भएका व्यक्ति, बालबालिका र वृद्धवृद्धा सबैका लागि उत्तिकै पहुँच हुने गरी संवेदनशील भएर बनाइएका छन् ।
सांघाईलाई अझै चिन्नै बाँकी छ । तर, घुमेका थोरै स्थानबाटै यस सहरको सुसम्पन्नता र विविधताको गहिराइ अनुमान लगाउँदै छु । ‘द बन्ड’ सांघाईको सबैभन्दा ऐतिहासिक र चर्चित क्षेत्रमध्ये एक रहेछ । एकातिर औपनिवेशिक कालका पुराना भवन, अर्कातिर आधुनिक गगनचुम्बी संरचना, यी दुई युगको संगमले सांघाईको पहिचान झल्काएको छ । विशेषगरी, साँझपख, जब नदीकिनारका अग्ला भवन रंगीन बत्तीले ताराहरूझैँ चमचममाउँछन्, पूरै क्षेत्र जादुमय दृश्यमा परिणत हुन्छ ।
चीनको सबैभन्दा अग्लो भवन सांघाई टावर, आधुनिक चीनको आत्मविश्वासको प्रतीक मानिँदो रहेछ । ११८ तलाको अवलोकन डेकबाट सहरको ३६० डिग्री दृश्य अवलोकन गर्न सकिन्छ भन्छन् । अहिलेसम्म त्यहाँ पुग्ने अवसर भने जुरेको छैन, तर भविष्यमा त्यो अनुभव लिने र त्यसलाई शब्दमा उतार्ने चाहना मनभित्र सुरक्षित छ ।
पूर्वाधारको कुरा गर्दा हरेक व्यक्तिले प्रयोग गर्ने सडक निकै लोभलाग्दा छन्, चाहिनेजति फराकिला, व्यवस्थित अनि सहज पनि । चारपांग्रे र दुईपांग्रेका लागि छुट्टाछुट्टै लेन, सडकपिच्छे जेब्रा क्रसिङ र ट्राफिक लाइट छन् । यी देख्दा सामान्य तर नागरिकको जीवन रक्षा गर्ने अति संवेदनशील विषय हुन् । यहाँको अर्को महत्वपूर्ण पक्ष भनेको सार्वजनिक यातायात प्रणाली हो । मेट्रो प्रणाली अत्यन्त विकसित, सुरक्षित र प्रयोगमैत्री छ । उच्च गतिको रेल नेटवर्कले चीनका प्रमुख सहरलाई जोडेको छ, जसले यात्रालाई छिटो र आरामदायी पनि बनाएको छ ।
यहाँ भाषा नजान्दा समस्या अवश्य हुन्छ, त्यो म आफैँले भोगिरहेकी छु । तर, प्रविधिले धेरै कठिनाइ घटाइदिएको छ । मोबाइल फोन र डिजिटल भुक्तानी प्रणाली यहाँको जीवनका अभिन्न पक्ष हुन् । यहाँ भाषा नजानेर भन्दा पनि राम्रो मोबाइल फोन नहुँदा समस्या पर्ने रहेछ ।
सांघाईको विकास हेर्दै गर्दा कहिलेकाहीँ गर्व र आत्ममन्थन दुवै हुन्छ । यहाँ बस्दै गर्दा मैले कामप्रतिको इमानदारी, समयको मूल्य, अनुशासन र सामूहिक जिम्मेवारी कति महत्वपूर्ण हुन्छ भन्ने कुरा महसुस गरिरहेकी छु । सांघाईमा बिताइरहेको यो समय केवल अध्ययनको अनुभव मात्र होइन, जीवनलाई नयाँ दृष्टिले हेर्ने सिकाइ पनि भइरहेको छ ।
यहाँको विकास हेर्दा म लट्ठ मात्र परेकी छैनँ, मनभरि प्रश्न पनि उब्जिएका छन् । यसकै एक छेउमा सिमाना गाँसिएको मेरो देश किन विकास हुन सकेन भन्ने कुराले पिरोल्ने रहेछ । यहाँ मैले सबै मानिसले काम मात्र गरेको देखेँ । बोल्ने भनेको त नबोली नहुने विषयमा मात्र पो रहेछ । होइन, कसरी बस्न सकेका होलान् नबोली ?
हामी त गफ सक्किएपछि बल्ल काम गर्न बस्थ्यौँ । हाम्रो समय त बोलेरै पो बर्बाद भएको रहेछ । यो महसुस हुँदा कुरा गरेरै घन्टौँ बिताउने हाम्रो ‘संस्कृति’ सम्झेर झनै दिक्क लाग्छ । खोइ कहिले सुध्रिएला हाम्रो बानी ! झन् अहिले त नेपाल निर्वाचनमय बनेको छ । उम्मेदवार गाउँ–गाउँ गएर के–के बोल्दै होलान् ?
(चौलागाईं चीनको संघाईस्थित सांघाई जिओ टोङ विश्वविद्यालयमा मिडिया र सञ्चार विषय लिएर स्नातकोत्तर तह अध्ययनरत छिन् ।)