नवलपुर जिल्लाका ११ वटा निर्वाचनस्थललाई अतिसंवेदनशील निर्वाचन क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ।
११४ निर्वाचनस्थल र ३११ मतदान केन्द्र रहेको जिल्लामा ११ निर्वाचनस्थललाई अतिसंवेदनशील, ५० वटालाई संवेदनशील र ५३ वटालाई सामान्यमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा निर्वाचन क्षेत्र नं. १ का लागि ५८ र निर्वाचन क्षेत्र नं. २ का लागि ५६ वटा निर्वाचनस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार आगामी फागुन २१ मा निर्वाचनका लागि नवलपुरमा सुरक्षा निकायले निर्वाचनस्थलको रेकी गर्न सुरु गरिसकेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी चारवटै तहको सुरक्षा घेरामा निर्वाचनस्थलको सुरक्षा गरिनेछ।
सुरक्षाकर्मीले अहिलेदेखि नै निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोसाकमा गस्तीलगायतका गतिविधि बढाइसकेका छन्। त्यसैगरी, निर्वाचनस्थलमा निर्वाचन कर्मचारीसँगै सुरक्षाकर्मी पठाइनेछ। निर्वाचनको मितिभन्दा चार दिनअगाडि नै निर्वाचनस्थलमा कर्मचारीहरू निर्वाचनको तयारीका लागि खटाइने उनले बताए।
नवलपुर क्षेत्र नं. १ मा एक लाख ३७ हजार ८१ जना र क्षेत्र नं. २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन्। क्षेत्र नं. १ मा तीन स्वतन्त्रसहित १६ तथा क्षेत्र नं. २ मा पाँच स्वतन्त्रसहित १८ उम्मेदवार चुनावी मैदानमा छन्।