प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वाेच्चबाट सदर

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वाेच्च अदालतले सदर गरेको छ। विशेषको आदेशविरुद्ध अधिकारी सर्वाेच्च गएकोमा शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासले विशेषको आदेश सदर गरेको हो।  

नलिन्चाेकको हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । जसमा विशेषले गत २१ मंसिरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।    हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको  दाबी गर्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वाेच्चको आदेशसँगै अब विशेष अदालतबाट मुद्दाको फैसला नहुँदासम्म उनी कारागारमै बस्नुपर्ने भएको छ। अधिकारी डिल्लीबजार कारागारमा छन्। 

पोखरा विमानस्थलको भ्रष्टाचारमा पनि उनलाई प्रतिवादी बनाइएको छ। जसमा उनीसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । अधिकारीको सम्पत्तिलगायत अन्य भ्रष्टाचार प्रकरणमा पनि आयोगले छानबिन गरिरहेको छ। 
 

सुझावित समाचार