उदयपुरमा किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका तीन हजार ८४८ जना किशोरीलाई खोप लगाउने तयारी गरिएको हो ।
आगामी माघ २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत तथा सूचना अधिकारी चिरञ्जीवी निरौलाले जानकारी दिए ।
जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियानअन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५४९, त्रियुगा नगरपालिकामा एक हजार ११९, कटारी नगरपालिकामा ७१६ र बेलका नगरपालिकामा ६६२ जना किशोरीलाई खोप लगाइने भएको छ ।
यसैगरी, निरौलाका अनुसार उदयपुरगढी गाउँपालिकामा २६१, रौतामाई गाउँपालिकामा २१६, ताप्ली गाउँपालिकामा १४४ तथा लिम्चुङबुङ गाउँपालिकामा १०६ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अभियानका क्रममा आठवटै पालिकामा ३९४ वटा खोप केन्द्र तोकिएका छन् । ती केन्द्रमा ३६३ जना खोप लगाउने स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । गत वर्ष उदयपुरका एचपिभी खोप १८ हजार ३८९ जना किशाेरीलाई लगाइएकाे कार्यालयले जानकारी दिएकाे छ ।