बागलुङ क्षेत्र नं. १ : पुरानालाई आफ्नैको डर, नयाँलाई पुरानाको भर

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति  नजिकिँदै छ । निर्वाचन नजिकिँदै गर्दा बागलुङ क्षेत्र नं. १ का राजनीतिक दलहरूको चुनावी सरगर्मी तीव्र रूपमा बढ्दै गएको छ । बाहिरको माहोल  हेर्दा चुनावी प्रतिस्पर्धा सामान्य देखिए पनि भित्री रूपमा यहाँको राजनीतिक मनोविज्ञान निकै जटिल बन्दै गएको छ । यस क्षेत्रमा पुरानो विरासत जमाइराखेका नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा आफ्नै मतदाताबाट डराइरहेका छन् भने आफूलाई नयाँ राजनीतिक दल भनेर चुनावमा होमिएको रास्वपालाई भने पुरानै राजनीतिक दलका मतदाताको भर रहेको छ । 

डर प्रतिपक्षबाट होइन, आफ्नै आधार क्षेत्रबाट 
पछिल्लो समय पुराना राजनीतिक दलप्रति जनताको मत फेरिने क्रम बढ्दै गएको छ । जनताबाट विकास, सुशासन, रोजगारी र जनजीविकाका सवालमा अपेक्षित परिणाम नआएको गुनासो व्यापक रहेका कारण उनीहरूले केही विकल्प खोजिरहेका छन् । तिनै विकल्प खोज्नेहरू नयाँ राजनीतिक शक्तितर्फ आकर्षित भएको पाइन्छ । यही कारण पुरानालाई आफ्नैको डर छ भने नयाँ शक्तिलाई पुरानाको भर रहेको विश्लेषण गरिएको छ । तर, पुराना दलहरूका लागि सबैभन्दा ठुलो चुनौती बाहिरबाट आएको प्रतिस्पर्धा होइन, आफ्नैभित्रको असन्तुष्टि हो । नेपाली कांग्रेस र नेकपा एमाले राजमोलाई आफ्ना परम्परागत मतदातालाई जोगाउन कठिनाइ भइरहेको छ । आफ्नै कार्यकर्ता, समर्थक र मतदाता अन्तिम समयमा विकल्प खोज्ने हो कि भन्ने डर उनीहरूमा स्पष्ट देखिन्छ । त्यसैले डर प्रतिपक्षबाट होइन, आफ्नै आधार क्षेत्रबाट रहेको पाइन्छ । 

यही कारण कांग्रेस एमाले र राजमाेले  आफ्ना मतदातालाई स्थिर राख्ने रणनीतिमा जोड दिएका छन् । आफ्नो मत सुरक्षित गर्न सकियो भने चुनाव जित्न सकिन्छ भन्ने निष्कर्षमा उनीहरू पुगेका छन् । यसपटक नेकपाको उम्मेदवार नभएको अवस्थालाई उनीहरूले अवसरका रूपमा लिएका छन् । आफ्ना मतदातालाई बचाउन र विखण्डन हुन नदिने हो भने निर्वाचन आफ्नै पाल्टोमा पार्न सकिने सम्भावना उनीहरूले देखिरहेका छन् । 

आफ्नै मतदातालाई जोगाउने रणनीतिमा कांग्रेस, एमाले र राजमो
कांग्रेस, एमाले र राजमोको मुख्य रणनीति आफ्नै मतदातालाई जोगाउनेमा केन्द्रित छ । चुनावी अभियानमा देखिएको भाषण, संगठन परिचालन र कार्यकर्ता व्यवस्थापनले पनि यही संकेत गर्छ । उनीहरूले आफ्नै आधार क्षेत्र मजबुत बनाउन चाहेका छन् । यसको विपरीत रास्वपाको रणनीति भने फरक देखिन्छ । रास्वपाले नयाँ मतदाता सिर्जना गर्नेभन्दा पनि पुरानै राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र मतदातालाई आफ्नो पक्षमा ल्याउने अठोट लिएको छ । पुरानो राजनीतिक संस्कृतिप्रति वितृष्णा, नेतृत्वप्रति असन्तोष र परिवर्तनको चाहनालाई उसले मुख्य एजेन्डा बनाएको छ । यसका साथै भदौ २३ र २४ गते भएको जेन–जी विद्रोह यिनै पुराना राजनीतिक दलका कारणले भएको हो भन्ने भाष्य पनि निर्माण गरिदिएको छ । 

जेन–जी आन्दोलनपछि सिर्जित अवस्थाबाट हुन लागेको निर्वाचनमा केही मतदाता पुराना राजनीतिक दलसँग असन्तुष्ट देखिएका छन् । त्यसले मत त फरक पार्छ नै नयाँ दलको पनि उम्मेदवार नयाँ नै भएका उनीहरूलाई पनि चुनौती भने छँदै छ ।  यसरी बागलुङ क्षेत्र नं. १ को चुनावी दृश्यमा अनौठो अवस्था सिर्जना भएको छ । पुराना दलहरू आफ्नै मतदाता जोगाउन संघर्षरत छन् भने नयाँ दल पुरानाको मत खोस्ने प्रयासमा छ । यही द्वन्द्व, डर र भरोसाको मिश्रणले यस क्षेत्रको निर्वाचनलाई थप चासोको विषय बनाएको छ । समयसँगै मतदाताको सोच, अपेक्षा र प्राथमिकतामा परिवर्तन भएको छ 

यस क्षेत्रको राजनीतिक इतिहास हेर्ने हो भने नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा (राजमो) र नेकपा यहाँका पुराना र स्थापित राजनीतिक दल हुन् । विशेष त कांग्रेस र राजमोले नै हालसम्म निर्वाचन जितेको यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा संयुक्त वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार सूर्य पाठकले निर्वाचन जितेका थिए । त्यसवेला कांग्रेस एक्लै चुनावी मैदानमा थियो भने अन्य वामपन्थी पार्टीहरू गठबन्धन गरेर निर्वाचन लडेका थिए ।

०७९ मा भने नेपाली कांग्रेससँग राष्ट्रिय जनमोर्चा र तत्कालीन नेकपा माओवादी केन्द्रलगायतका दलको गठबन्धनमा रहेको थियो । सो वेला राजमोका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका उम्मेदवार सूर्य पाठकलाई पराजित गरेका थिए । केसी २१ हजार ४६४ मत पाएर विजयी भए भने पाठकले १८ हजार ८४५ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खिमानन्द कँडेल नाै हजार १९१ मत ल्याएर तेस्रो भएका थिए । लामो समयदेखि यस क्षेत्रमा कांग्रेस, एमाले र राजमोकै राजनीतिक शक्ति सन्तुलन निर्माण हुँदै आएको हो । तर, समयसँगै मतदाताको सोच, अपेक्षा र प्राथमिकतामा आएको परिवर्तनले पुराना दलहरूलाई असहज अवस्थामा पुर्याएको छ ।

पुराना दललाई विरासत जोगाउनका लागि धेरै मिहिनेत गर्नुपर्नेछ । अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्दा नेपाली कांग्रेस पहिलो बनेको थियो । कांग्रेसले १६ हजार ४९३, एमालेले १५ हजार ४२८, रास्वपाले सात हजार ८७७ र नेकपा–जनमोर्चाको आठ हजार ३२५ मत ल्याएको थियो । यसपटक भने निर्वाचन सोचेजस्तो छैन । पुराना राजनीतिक दलका मतदाताको मत परिवर्तन हुने देखिएको छ । पुराना दललाई विरासत जोगाउनका लागि धेरै मिहिनेत गर्नुपर्नेछ भने नयाँ दल जबर्जस्ती स्थापित हुन खोजेको देखिन्छ । 

एमालेका पुरानै उम्मेदवार, अन्य दलका नयाँ 
यस क्षेत्रमा नेपाली कांग्रेस, रास्वपा र जनमोर्चाले नयाँ उम्मेदवार उठाए पनि एमालेले पुरानै अनुहार दोहोर्याएको छ । एमालेले उम्मेदवार बनाएको हिराबहादुर केसी ०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट पहिलोपटक उम्मेदवार बनेका थिए । त्यसवेला कांग्रेसका स्व. हरिबहादुर खड्कासँग पराजय भोग्नुपरेको थियो । पछि पुनः ०७९ सालको प्रदेश सभा सदस्यमा पनि यसै क्षेत्रबाट उम्मेदवार बने र कांग्रेसकै दीपेन्द्रबहादुर थापासँग पराजय भोगे । यो  केसीको संसद्को यात्राका लागि तेस्रो प्रयास हो । यसपटक भने आममतदाताको मन आफूले जित्नेमा ढुक्क रहेका छन् । 

यस क्षेत्रका नेपाली कांग्रेसले भने त्रिभुवन विश्वविद्यालयमा लामो विद्यार्थी राजनीति गरेर नेपाली कांग्रेसको मूल राजनीतिमा होमिएका भीम श्रीसलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसको महासमिति सदस्य हुँदै हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्रिभुवन विश्वविद्यालयमा सम्पूर्ण पदाधिकारीसहित सदस्यहरू अखिलका संगठनले जित्दा सभापतिमा श्रीस एक्लैले चुनाव जितेका थिए । संसदीय निर्वाचनमा भने श्रीसको पहिलो प्रयास हो । विद्यार्थीको मन त जितेका थिए अब जनताको मन जित्न श्रीस मैदानमा उत्रिएका छन् । कांग्रेस नवीन र रुपान्तरण भएर आएको हुँदा यसपटक निर्वाचनमा नयाँ मुद्दा लिएर गएको छ, त्यसैकारण आफ्ना मतदातालाई स्थिर राख्न सकेमा श्रीसले निर्वाचन सजिलै जित्ने आकलन गरिएको छ । 

श्रीस र केसी यस क्षेत्रका मतादातालाई परिचित नाम हो भने रास्वपाका उम्मेदवार सुशील खड्का यस क्षेत्रकाे राजनीतिमा देखिएको नयाँ अनुहार हुन् । उनी लामो समय अमेरिका बसेर रास्वपाबाट नेपाली राजनीतिमा होमिएका हुन् । रास्वपा पक्षधरहरू खुला रूपमा पुराना दलका कार्यकर्तासँग संवादमा छन् । ‘दल होइन, व्यक्ति र सोच बदल्नुपर्छ’ भन्ने नारामार्फत उनीहरूले पुराना दलका मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यही कारण रास्वपाको भरोसा नयाँभन्दा पनि पुरानै राजनीतिक दलका मतदातामाथि देखिन्छ । 

यसका साथै यस क्षेत्रमा राम्रै मतभार रहेको राष्ट्रिय जनमोर्चाले पनि नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीका उत्तराधिकारीको रूपमा रहेका अधिकारी यस क्षेत्रमा जनमोर्चाको सांगठनिक मत र नेकपाको साथलाई लिएर परिणाम आफ्नो पक्षमा पार्ने दाउमा  छन् । तर, पछिल्लो समय कमजोर बन्दै गएको जनमोर्चाको संगठन र कम मत भएको नेकपासँगको गठबन्धनले जित आफ्नो पोल्टामा पार्न त्यति सहज देखिँदैन । त्यसमा कांग्रेस–एमालेको यस क्षेत्रमा राम्रै प्रभाव रहेको छ भने नयाँ दलसँगकाे चुनौती पनि यसले राजमोले सामना गर्नुपर्नेछ ।

राजमोलाई आफ्नो पक्षमा जित पार्नका लागि ठुलै मिहिनेत भने गर्नुपर्ने नै छ ।  यस क्षेत्रमा पुरानो दल राप्रपाका कल्याणविक्रम आचार्य, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मंगोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेसनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् ।  

अन्ततः बागलुङ क्षेत्र नं. १ को चुनावी नतिजाले केवल एकजना प्रतिनिधि मात्र चयन गर्नेछैन । यसले पुराना राजनीतिक दलप्रतिको जनविश्वास कति बाँकी छ र नयाँ राजनीतिक विकल्प कति स्वीकार्य बन्दै गएको छ भन्ने स्पष्ट सन्देश दिनेछ । यही कारण यो निर्वाचनलाई यहाँको राजनीतिक भविष्यको परीक्षणका रूपमा पनि हेरिएको छ ।
 

सुझावित समाचार