१०औँ संस्करणको टी–२० विश्वकप शनिबारदेखि भारत र श्रीलंकामा सुरु हुँदै छ । प्रतियोगितामा २० राष्ट्र सहभागी छन् । सहभागी राष्ट्रलाई आइसिसीले चार समूहमा विभाजन गरेको छ । विश्वकपको खेलतालिका सार्वजनिक भएदेखि नै तनाव सुरु भएको थियो । बंगलादेशले भारतमा नखेल्ने र आफ्ना खेल श्रीलंकामा राख्न आइसिसीसँग आग्रह गरेको थियो । आइपिएलबाट आफ्ना खेलाडीलाई अपमानजनक तरिकाले निकालेको भन्दै बंगलादेशले भारतमा प्रतिस्पर्धा नगर्ने अडान लिएको थियो ।
अन्तिम समयमा पनि आइसिसीले बंगलादेशलाई पूर्ववत् निर्णय परिवर्तन गर्न आग्रह गरेको थियो । तर, बंगलादेशले राष्ट्रियताको सवालमा कुनै सम्झौता नगर्ने जवाफ आइसिसीलाई दियो । आइसिसीले बंगलादेशलाई विश्वकपबाट हटायो । बंगलादेशको समर्थन गर्दै पाकिस्तानले पनि भारतमा नखेल्ने निर्णय लिएको छ । भारतको छिमेकी राष्ट्रको सम्बन्ध राम्रो छैन । पाकिस्तान र बंगलादेश मात्र विश्वकपका खेल त्याग गर्ने राष्ट्र होइनन्, यसअघि पनि यस्ता घटना भएका छन् ।
१. अस्ट्रेलिया : सन् १९९६ मा श्रीलंका एकदिवसीय विश्वकपको सहआयोजक थियो । श्रीलंकाको समूहमा अस्ट्रेलिया थियो । अस्ट्रेलियाले श्रीलंकामा प्रतिस्पर्धा नगर्ने निर्णय लियो । विश्वकपअगाडि कोलम्बो आतंककारी हमलापछि सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियाले प्रतिस्पर्धा नगर्ने निर्णय लियो । यस निर्णपछि सहआयोजक श्रीलंकाले अस्ट्रेलियाबाट वाकओभर पायो । यद्यपि, सो विश्वकपको फाइनलमा श्रीलंका र अस्ट्रेलियाबिच नै प्रतिस्पर्धा भयो । जसमा श्रीलंकाले अस्ट्रेलियालाई स्तब्ध पार्दै पहिलोपटक एकदिवसीय विश्वकप उपाधि जित्यो ।
२. वेस्ट इन्डिज : सन् १९९६ को विश्वकपमा अस्ट्रेलियासँगै वेस्ट इन्डिजले पनि श्रीलंकामा प्रतिस्पर्धा नगर्ने निर्णय लियो । त्यस समयमा वेस्ट इन्डिज विश्व क्रिकेटकै एक शक्तिशाली राष्ट्र थियो । वेस्ट इन्डिजले श्रीलंकामा नजाने निर्णय लिँदा समूह चरणमा आइसिसीले ठुलो घाटा व्यहोरेको थियो । उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको वेस्ट इन्डिजले गतिलो प्रदर्शन गर्न सकेन । श्रीलंकाले आफ्नो समूहमा अस्ट्रेलिया र वेस्ट इन्डिजबाट वाकओभर पाउँदै दोस्रो चरणको यात्रा तय गर्यो ।
३. इंग्ल्यान्ड : सन् २००३ को विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकी महादेशले आयोजना गरेको थियो । जसमध्ये जिम्बावेमा पनि विश्वकपका प्रारम्भिक चरणका खेल समावेश थिए । इंग्ल्यान्डले जिम्बावेमा खेल्न अस्वीकार गर्यो । जिम्बावे नजानुको प्रमुख कारण राजनीतिक सम्बन्ध थियो । बेलायत सरकारले जिम्बावेमा आफ्नो टोलीलाई भ्रमण गर्न अनुमति दिएको थिएन । जसका कारण जिम्बावेले पनि नखेली नै इंग्ल्यान्डविरुद्ध वाकओभर पाउँदै २ अंक बटुल्यो ।
४. न्युजिल्यान्ड : सन् २००३ को विश्वकपमा दुई शक्तिशाली राष्ट्रले कमजोर प्रतिद्वन्द्वीको देशमा गएर प्रतिस्पर्धा नगर्ने निर्णय लिएका थिए । सुरुवातमा इंग्ल्यान्ड र त्यसपछि न्युजिल्यान्डले केन्यामा नखेल्ने निर्णय लिए । न्युजिल्यान्डले केन्यामा शान्ति सुरक्षा कमजोर र आफ्ना खेलाडीको भविष्य जोखिममा राखेर टोली नपठाउने निर्णय भएको जनायो । केन्याले वाकओभर पायो । सो विश्वकपमा अप्रत्याशित रूपमा केन्याले सेमिफाइनलमा स्थान बनाएको थियो ।
५. पाकिस्तान : शनिबारदेखि सुरु हुने टी–२० विश्वकपको सुरुदेखि नै विवाद थियो । सुरुमा बंगलादेशले सुरक्षाका कारण देखाउँदै भारत नजाने निर्णय लियो । आइसिसीले कारबाही गर्दै बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावशे गर्यो । स्कटल्यान्डले अहिले समूह ‘सी’मा विश्वकप खेल्ने तयारी गरेको थियो । पाकिस्तानले भने बंगलादेशमाथिको निर्णयविरुद्ध भारतमा नखेल्ने जनाएको छ ।
यद्यपि, आइसिसीले अहिलेसम्म पाकिस्तानको निर्णयप्रति केही प्रतिक्रिया दिएको छैन । तर, खेल नखेल्दा पाकिस्तानले समूह ‘ए’मा २ अंक गुमाउने निश्चित छ । पाकिस्तान र भारतबिचको खेल नहुँदा आयोजक भारत मात्र नभएर आइसिसीले समेत ठुलो आर्थिक घाटा व्यहोर्नुपर्ने भारतीय एजेन्सीहरूले जनाएका छन् ।