राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशले भोगिरहेको दुःखका अगाडि आफूले भोगेका पीडा गौण भएको बताएका छन्। बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ पुगेका लामिछानेले अब व्यक्तिगत पीडाभन्दा देशको सामूहिक पीडाका विषयमा बोल्ने बताए।
‘अब आफ्ना मात्रै कुरा गरेर हुँदैन, ‘उनले भने, ‘सिंगो देशले पाएको दुःखअगाडि मेरो दुःखको कुनै हिसाब छैन। अब आफ्ना पीडाको कुरा गर्दिनँ। देशको पीडाको कुरा गर्नेछु।’
उनले पुराना राजनीतिक दल वा तिनका नेताहरूलाई गाली गर्ने पक्षमा पनि आफू नरहेको बताए। नेपाली जनताले अपदस्त गरेकाहरूलाई आफूले गाली गरिरहनुनपर्ने उनको भनाइ थियो। ‘म कुनै राजनीतिक दल या अमुक नेतालाई गाली गर्ने पक्षमा छैन,’ उनले भने, ‘नेपाली जनताले अपदस्त गरिसकेपछि अपदस्त भइसकेकाहरूलाई मैले गाली गर्नै पर्दैन।’
सभापति लामिछानेले आफूले धेरै दुःख पाए पनि चितवनका जनताले रास्वपालाई दिएको साथले थप जिम्मेवारी बढाएको बतए। उनले चितवनबाट सुरु भएको निलो क्रान्तिको बिउ देशभर फैलिएको दाबी गरे। ‘मतपत्रबाट नेपाली जनताको भाग्य र भविष्य कोर्ने सुरुवात चितवनबाट भएको हो,’ उनले भने, ‘अब यो देशभर फैलिन्छ।’
सभापति लामिछानेले मुलुकको समृद्धि र स्थायी शान्ति आफ्नो दलको मुख्य प्राथमिकता भएको पनि बताए। निर्वाचन अभियानका क्रममा चितवन पुगेका उनले अबको राजनीतिक यात्रा उत्पादन, रोजगारी र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुने बताए। ‘यो मुलुकलाई कसरी समृद्ध बनाउने, स्थायी शान्ति कसरी ल्याउने, युवाहरूलाई रोजगारी कसरी दिने, उद्योगहरू कसरी स्थापना गर्ने र गुणस्तरीय सेवा सबैको पहुँचमा कसरी पुर्याउने भन्ने विषय हाम्रो प्राथमिकता हो,’ उनले भने।