लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेस गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष ०८२/८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरणसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
त्यस्तै, वन तथा वातावरण मन्त्रालयले पेस गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । साथै, प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउनेसमेत निर्णय गरेको उनले बताए ।