बागलुङमा ४५ दिनमा ११५ थान भरुवा बन्दुक बरामद

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचनलक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन ठुलो मात्रमा अवैध हतियार बरामद गरेको छ । प्रहरीले पछिल्लो ४५ दिनमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रण अभियान सञ्चालन भएको छ ।

यो अभियानमा अहिलेसम्मकै धेरै हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बुर्तिवाङमातहतबाट खटिएको टाेलीले ६२ थान अवैध रूपमा सञ्चालनमा रहेका हतियार बरामद गरेको हो ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन र चोरी–सिकारी नियन्त्रण गर्न भरुवा बन्दुक खोजी गरी बरामद गरिएको हो । ढोरपाटन सिकार आरक्ष र विभिन्न सामुदायिक वनहरूमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजतपत्र नलिईकन लुकाइछिपाइ राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको बागलुङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका कार्यालयबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए । 

बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएको र चालू अवस्थामै रहेको भेटिएको पाइएको छ । भरुवा बन्दुक बरामद गरे पनि लुकाएर राखिएको ठाउँमा कसको हो भन्ने खुल्न नसकेको हुँदा बन्दुकको मालिक पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । इजाजतपत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । 
 

सुझावित समाचार