- पाँच खेलमा पराजित काँक्रेबिहारले छैटौँ खेलमा चित्लाङ क्लबलाई २–२ को बराबरीमा रोक्दै १ अंक जोड्यो
राष्ट्रिय लिग फुटबल प्रतियोगिताको नवप्रवेशी क्लब काँक्रेबिहार क्लबले छैटौँ खेलमा अंक बटुलेको छ । यसअघि पाँचौँ खेलसम्म पराजित काँक्रेबिहारले बुधबार चित्लाङ फुटबल क्लबलाई बराबरीमा रोक्दै अंक बटुलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा काँक्रेबिहारले चित्लाङलाई २–२ को बराबरीमा रोकेको हो । बराबरीसँगै काँक्रेबिहारले छैटौँ खेलमा १ अंक जोडेको छ । एक खेल बढी खेलेको चित्लाङको ६ अंक छ । लिगमा नवजनजागृति क्लब मात्र अंकविहीन छ ।
खेलको २९औँ मिनेटमा भरत नेपालले काँक्रेबिहारलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा चित्लाङले बराबरीको अवसर गुमाएको थियो । तर, काँक्रेबिहारले छैटौँ खेलमा चित्लाङविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको २३औँ मिनेटमा काँक्रेबिहारका बुद्धि बुढाले प्रहार गरेको फ्रिकिकलाई चित्लाङका गोलरक्षक सन्तोष महतले बचाउ गरे ।
खेलको २८औँ मिनेटमा सुपबहादुर शाहीले दिएको पास भरतले डिबक्सभित्र गोल गर्न सकेनन् । दोस्रो हाफमा चित्लाङले रणनीति परिवर्तन गरेको थियो । काँक्रेबिहारविरुद्ध काउन्टर एट्याक्टमा दबाब राखेको चित्लाङले खेलको ७६औँ मिनेटमा चेतनकुमार थारूको गोलमा १–१ को बराबरी गर्यो । खेलको ८६औँ मिनेटमा आरोन थापाले गोल गर्दै चित्लाङ २–१ को अग्रता दिलाए । खेलको अन्तिम इन्जुरी समयमा सन्दीप देउवाले गोल गर्दै काँक्रेबिहारलाई २–२ को बराबरीमा पुर्याए ।
लगातार तेस्रो खेलमा पराजित फ्रेन्ड्स
लिगअन्तर्गत अर्को खेमला प्लानिङ ब्वाइजले ‘ए’ डिभिजनको अनुभवी क्लब फ्रेन्ड्स क्लबलाई २–० ले हरायो । प्लानिङको जितमा फागुराम थारूले दुई गोल गरेका थिए । जितसँगै प्लानिङले ६ खेलबाट १३ अंक जोडेको छ । प्लानिङ लिगको शीर्ष स्थानमा उक्लेको छ ।
दोस्रो स्थानमा रहेको एपिएफ, न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र क्लबले समान १३ अंक बनाएका छन् । तर, गोलअन्तरमा प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो । प्लानिङको जितमा दुई गोल गरेका थारूले खेलको ५२औँ मिनेटमा १–० को अग्रता गोल गरे । खेलको ८०औँ मिनेटमा उनले टोलीको जित २–० ले पक्का पारे । प्लानिङको यो लगातार तेस्रो जित र फ्रेन्ड्सको यो लगातार तेस्रो हार हो ।