- विश्व तेक्वान्दो महासंघले प्रदान गर्ने उत्कृष्ट पारा प्रशिक्षक अवार्ड पाउने नेपालका कविराज नेगी लामा पहिलो नेपाली
नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी विश्वकै उत्कृष्ट प्रशिक्षक बनेका छन् । दक्षिण कोरियामा रहेको विश्व तेक्वान्दो महासंघले २०२५ को ‘पारा तेक्वान्दो कोच अफ द इयर’ अवार्ड नेपालका प्रशिक्षक नेगीलाई प्रदान गरेको हो । यो उपलब्धि हात पार्ने उनी पहिलो प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा नेपालले सहभागिता जनाएको अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा पदक हात पार्दै आइरहको छ । यसक्रममा एसियन गेम्सदेखि पारा ओलम्पिकसम्म नेपाली खेलाडीले राष्ट्रलाई पदक दिलाएका छन् । अहिलेसम्म नेगीको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र आठ अन्तर्राष्ट्रिय कांस्य जितेको छ ।
गत पुसमा पोखरामा भएको वर्षको उत्कृष्ट पल्सर एनएसजेएफ अवार्ड पनि उनी उत्कृष्ट प्रशिक्षक बनेका थिए । यसैगरी नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेशले पनि उनलाई उत्कृष्ट प्रशिक्षकका रूपमा सम्मानित गरेका छन् ।
युएईको फुजैराहस्थित अल बहर होटल एन्ड रिसोर्टमा मंगलबार आयोजित विश्व तेक्वान्दो गाला अवार्डमा नेगी सम्मानित भएका थिए । उनलाई महासंघका अध्यक्ष डा. चाउ चुड–वनले नेगीलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरे । नेपालमा पारा तेक्वान्दो खेलको विकास, विस्तार तथा अन्तर्राष्ट्रियस्तरमा हासिल गरिएका उल्लेखनीय उपलब्धिको मूल्यांकन गर्दै विश्व तेक्वान्दो टेक्निकल कमिसनले नेगीलाई उत्कृष्ट प्रशिक्षकका रूपमा छनोट गरेको हो ।
११ वर्षदेखि निरन्तर प्रशिक्षणमा
नेगी २०१५ देखि नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षकका रूपमा कार्यरत छन् । यो अवधिमा उनले एसियन च्याम्पियनसिपदेखि विश्व च्याम्पियनसिपसम्म १३ अन्तर्राष्ट्रिय पदक नेपाललाई दिलाएका छन् । नेगीकै प्रशिक्षणमा पलेशा गोवर्धनले सन् २०२४ मा पेरिसमा भएको २०२४ पाराओलम्पिक खेलकुदमा ऐतिहासिक रूपमा कांस्य जितेकी थिइन् । यसैगरी, सन् २०२३ मा चीनको हाङझाउ एसियन पारा गेम्समा पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । नेगीको प्रशिक्षणमा सिर्जना घिसिङले सन् २०२२ विश्व ग्रान्ड प्रिक्स फाइनल (जी–१०) मा ऐतिहासिक स्वर्ण पदक हात पारेकी थिइन् ।
विश्व तेक्वान्दो महासंघले प्रत्येक वर्ष आयोजना गर्ने गाला अवार्ड समारोहमा ओलम्पिक तथा पाराओलम्पिक वर्षका उत्कृष्ट पुरुष–महिला खेलाडी, प्रशिक्षक, रेफ्री तथा उत्कृष्ट सदस्य राष्ट्रिय संघलाई सम्मान गरिँदै आएको छ । विश्व तेक्वान्दोमा नेपाल तेक्वान्दो संघसहित २१३ राष्ट्र आबद्ध छन् ।