- उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबिच चौथो विकेटका लागि १०३ रनको शतकीय साझेदारीमा नेपालले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेटअन्तर्गत ‘वार्मअप’ खेलमा युएईलाई सात विकेटले हरायो
नेपालले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेटअन्तर्गत वार्मअप प्रतिस्पर्धामा मंगलबार युएईलाई सात विकेटले हराएको छ । चेन्नईमा भएको प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको युएईले ६ विकेटको नोक्सानीमा एक सय ४५ रन जोडेको थियो । प्रत्युत्तरमा नेपालले १७ ओभरमा तीन विकेटको गुमाएर १४८ रन जोड्दै सानदार जित हात पारेको हो । नेपालले खेल सकिन १८ बलअघि सफलता चुमेको हो ।
लक्ष्य पछ्याएको इनिङ्सको एक समय नेपाल ६.५ ओभरमा ४५/३ को अवस्थामा थियो । दीपेन्द्रसिंह र आरिफले चौथो विकेटका निमित्त धैर्यपूर्वक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ अग्रसर गराए । उनीहरूले १०.५ ओभर साझेदारी प्रतिओभर १० ओभर रनरेटमा ब्याटिङ गरेका थिए । दुवैले नेपाललाई जित दिलाउन अर्धशतकीय योगदान दिएका हुन् । क्रिजमा दीपेन्द्रसिंह र आरिफ सेट हुँदा युएईका बलर निराश देखिएका थिए । युएईले यो साझेदारी तोड्न सात बलर प्रयोग गरेको थियो । तर, रनिङ विट विन दी विकेटमा दीपेन्द्रसिंह र आरिफबिचको उत्कृष्ट तालमेलका कारण उनीहरूले विकेट गुमाएनन् ।
दीपेन्द्रसिंहले ३१ बलमा चार चौका र एक छक्का प्रहार गरी ५० रन जोडे । आरिफले ३७ बल सामना गरी आठ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६१ रन जोडेका थिए । यसअघि नेपालको ओपनिङ कमजोर रह्यो । इनिङ्सको १.४ ओभरमा ओपनर कुशल भर्तुेल आठ रनमा आउट भए । अर्का ओपनर आसिफ सेखले आठ रन तथा कप्तान रोहित पौडेलले १९ बलमा १६ रन जोडेका थिए ।
युएईको मध्यम योगफल
पहिले ब्याटिङ गरेको युएईले नेपालविरुद्ध मध्य योगफल खडा गर्यो । ओपनर आयांश शर्माले १७ बलमा तीन चौका र एक छक्का प्रहार गरी २५ रनको योगदान दिएका थिए । कप्तान मुहमद वासिमले चार बलमा एक छक्काको सहयोगमा ६ रन जोडे । करण केसीले इनिङ्सको ०.५ ओभरमै कप्तान वासिमलाई बोल्ड गर्दैै नेपाललाई पहिलो सफलता दिलाए । वासिमको विकेटसँगै युएईले त्यसपछि आक्रामक रूपमा ब्याटिङ गर्न सकेन । मोहमद जाहैवले २६ बलमा १९ रन तथा अलिसान सारफुले १८ बलमा १२ रन बनाए । नेपालले अलिसानको विकेट लिँदा युएई ६६–५ को अवस्थामा थियो ।
त्यसपछि हर्षित कौशिक र सोहेब खानले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई १३४–६ को स्थितिमा पुर्याए । हर्षितले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाए । सोहेबले २७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ३८ रनको योगदान दिए । नेपालका लागि करणले २६ रनमा दुई विकेट लिए । सन्दीप लामिछानेले २४ रन दिँदै दुई विकेट हात पारे । दीपेन्द्रसिंहले १२ बलमा एक विकेट लिन सफल भए ।
नेपालले विश्वकपअघि २२ माघमा दोस्रो वार्मअप खेल क्यानडाविरुद्ध खेल्ने छ । यो खेल पनि चेन्नईको एमए चिदाबरम रंगशालामा हुने छ । दुई वटा वार्मअप खेलपछि नेपाली टोली मुम्बई फर्कने छ । यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इंग्ल्यान्ड र वेस्ट इन्डिज दुईपटकका पूर्वविजेता हुन् । विश्वकपमा नेपालले पहिलो खेल इंग्ल्यान्डसँग २५ माघमा खेल्ने छ । नेपालका चारै खेलमा मुम्बईमा हुनेछ । समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् ।