काठमाडौं उपत्यकामा सिसिक्यामेराको जडान बढाउन प्रहरीले यहाँका सबै पालिकासँग छलफल गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, आइटी अधिकृतहरू तथा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा मंगलबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो।
काठमाडौं उपत्यकाको शान्ति–सुरक्षा मजबुत बनाउन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिकको दैनिक जीवनलाई थप सुरक्षित बनाउने उद्देश्यले सिसिटिभी प्रणालीको जडान, मर्मत, प्रविधि र समन्वयका विषयमा गहन छलफल गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले सिसिटिभी प्रणालीको महत्त्व, उपलब्धि, उपत्यकामा यसको वर्तमान अवस्था, भावी योजनालगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए।
ललितपुर महानगरपालिकाका प्रमूख चिरिबाबु महर्जनले स्थानीय तहले सिसिटिभी क्यामेरा जडान गर्दा नेपाल प्रहरीसँग सहकार्य गर्नुपर्ने र नेपाल प्रहरीले प्राविधिक मापदण्ड तयार पार्दा सबै पालिकाहरूसँग मिल्ने गरी तयार पार्न सुझाव दिए।
अन्तर्क्रिया सत्रमा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा सिसिटिभी जडान तथा सञ्चालनका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे सुझाव प्रस्तुत गर्नुका साथै फाइबर कनेक्सन, एकीकृत प्रणालीमा जडानलगायतका विषयमा सुझाव दिनुका साथै समन्वयमा चासो राखेका थिए।
अन्तर्क्रियामा उठेका प्राविधिक विषयहरूको सम्बाेधन प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपालबहादुर रेग्मीले गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उठेका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल प्रहरी र स्थानीय तहबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान नेपाल प्रहरीको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुका साथै स्थानीय तहबाट उपस्थित सबैमा कृतज्ञता व्यक्त गरेका छन्।
औपचारिक कार्यक्रम समापनपश्चात् सहभागीहरूले जिल्ला प्रहरी परिसर, काठमाडौंको भद्रकालीस्थित सिसिटिभी कन्ट्रोल रुमको अवलोकनसमेत गरेका छन् ।
जेन–जी आन्दोलनपछि उपत्यकाका धेरै सिसिक्यामेरामा क्षति पुगेको छ। जसले गर्दा समस्या भएपछि स्थानीय तहसँग मिलेर सिसिक्यामेरा जडानको कामलाई तीव्रता दिन यो कार्यक्रम गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।