जाजरकोटमा ६२ लाख बक्यौता उठ्न बाँकी, प्राधिकरणले पहिलोपटक सुरु गर्‍यो अनलाइन लाइन काट्ने अभियान

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जाजरकोटले ६० दिनसम्म विद्युत् महसुल नतिरेका थ्री फेज ग्राहकहरूको लाइन अनलाइन प्रणालीमार्फत काट्न सुरु गरेको छ। जिल्लामा पहिलोपटक अनलाइन प्रणाली प्रयोग गरी लाइन काट्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण जाजरकोट केन्द्रका प्रमुख इन्जिनियर राजेन्द्रलाल देवले जानकारी दिए।

उनका अनुसार महसुल नतिर्ने ग्राहकहरूलाई नियन्त्रणमा ल्याउन अनलाइन प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। वितरण केन्द्रका अनुसार, जाजरकोट जिल्लामा सबैभन्दा धेरै बक्यौता भेरी नगरपालिका– ४ को सडकबत्ती र जाजरकोट अस्पतालमा रहेको छ।

भेरी नगरपालिका– ४ अन्तर्गतको सडकबत्तीमा आठ लाख ५२ हजार ८८८ रुपैयाँ बक्यौता रहेको छ भने पटक–पटक ताकेता गर्दा पनि वडा कार्यालयले हालसम्म रकम नतिरेको प्राधिकरणले जनाएको छ। त्यस्तै, स्वास्थ्य सेवा कार्यालय जाजरकोटअन्तर्गतको जाजरकोट अस्पतालमा १७ लाख ३५ हजार ८११ रुपैयाँ ५४ पैसा बक्यौता रहेको छ। माघ २० गतेसम्म पनि यी दुई कार्यालयले रकम दाखिला नगरेको प्रमुख देवले बताए।

हाल जाजरकोट जिल्लामा कुल ६२ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र अहिलेसम्म १२ लाख रुपैयाँ मात्र असुली भएको वितरण केन्द्रले जनाएको छ। जिल्लामा थ्री फेज ग्राहक संख्या ९६ रहेकोमा ९५ प्रतिशत ग्राहक अनलाइन प्रणालीमा आबद्ध भइसकेका छन् भने नेटवर्क समस्या भएका कारण सातजना ग्राहक अझै अनलाइनमा आउन नसकेको केन्द्रले जानकारी दिएको छ।

सुझावित समाचार