प्रधानमन्त्री सुशीला कार्कीले लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरुदण्ड भएको बताएकी छिन्। नेपाल प्रहरीको प्रहरी निरीक्षकको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्मअनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन् ।
नेपाल प्रहरी मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘एक जिम्मेवार प्रहरी अधिकृतको हैसियतले तपाईंहरू आज राज्य र नागरिकबिचको पहिलो सम्पर्क विन्दु बन्नुहुनेछ । नागरिकले आफ्नो सरकार तपाईंको व्यवहार र आचरणमा देख्नेछन् । तपाईंको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउनेछन् । त्यसैले तपाईंहरूले सधैँ सम्झिदिनुहोला, कानुनभन्दा माथि कोही छैन, तर कानुन कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरूमा शिष्टता र मानवताको भावना पनि हुनुपर्छ । कानुनको सही कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान स्पष्ट र व्यावसायिक हुन्छ । दुःखी गरिब र कमजोरको आवाज सुन्ने, निमुखाको भावना बुझ्ने तथा पद, प्रभाव, लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरुदण्ड हो ।’ परम्परागत अपराधसहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेका र यस्तो अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै निष्पक्ष भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्। कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने चर्चा गर्दै सही निर्णय गर्दा हुन सक्ने आलोचना र धम्कीबाट नडराई कार्य गर्नुपर्नेमा उनको जोड छ । साथै समयअनुसार विकसित र सुदृढ प्रहरी नै राज्यको अपेक्षा र चाहना रहेकाले यसको निरन्तर सुधार र विकासका लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको उनले बताइन् ।