संखुवासभामा एक हजार ५०१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ। सोमबार सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालय संखुवासभाले यस्तो जानकारी दिएको हो।
विद्यालयकेन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता दिगोपना कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा एचपिभी खोप अभियान सञ्चालनबारे जानकारी दिइयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले एचपिभी खोप नियमित कार्यक्रम प्रभावकारी रहेको बताउँदै विद्यालयमा अध्ययनरत र विद्यालयबाहिरका कुनै पनि किशोरीहरू एचपिभी खोपबाट वञ्चित हुन नहुने धारणा राखेका थिए।
यही माघ २७ देखि २९ गतेसम्म तीन दिन जिल्लाभर एचपिभी खोप अभियान कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रोषण श्रेष्ठले बताए। उनका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये नाैवटा स्थानीय तहमा स्थलगत रूपमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिरका किशोरीहरूलाई खोप लगाइने अभियानको तयारी भएको छ।
जिल्लाको विकट र दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकामा हिमपात भइरहेको कारण पछि बैठकबाट मिति तय गरेर कार्यक्रम गरिने श्रेष्ठले जानकारी दिए। ‘यो नियमित खोप अभियान कार्यक्रम हो,’ श्रेष्ठले भने, ‘यो खोप किशोरीहरूले जीवनमा एकपटक मात्रै लगाउनुपर्ने हुन्छ।’
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाको भोटखोला गाउँपालिकामा ६५, चैनपुर नगरपालिकामा २६०, चिचिला गाउँपालिकामा २४, धर्मदेवी नगरपालिकामा १११, खाँदबारी नगरपालिकामा ४७१, मादी नगरपालिकामा १३६, मकालु गाउँपालिकामा १०३, पाँचखपन नगरपालिकामा १३१, सभापोखरी गाउँपालिकामा ९४ र सिलिचोङ गाउँपालिकामा ७६ जना कक्षा ६ मा अध्ययनरत किशोरीहरू छन्।
संखुवासभाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ। गत वर्ष संखुवासभाका कक्षा ६ देखि कक्षा १० सम्म र १० वर्ष उमेरदेखि १४ वर्षसम्मका सात हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइएको थियो।
यो वर्ष संखुवासभाका १३९ सामुदायिक विद्यालय र २० निजी विद्यालय गरी १५९ वटा विद्यालयका किशोरीलाई एचपिभी खोप लगाइनेछ। खोप अभियानमा १५९ स्वास्थ्यकर्मी, १५९ स्वयंसेवक र ७६ सुपरिवेक्षक परिचालन गरिएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ।