सल्यानको शारदा नगरपालिकामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। श्रीनगर–खलंगा सडकखण्डअन्तर्गत शारदा– १, श्रीनगरदेखि सदरमुकाम खलंगा जाँदै गरेको रा.१ह २१९५ नम्बरको अटो खलंगास्थित सिँचाइ कार्यालयनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी सल्यान सिद्ध कुमाख गाउँपालिका– ३ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका– ११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्ध कुमाख– १ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका– ९ की २३ वर्षीया संगीता विक, उनका सात वर्षीय छोरा दीपक विक र छोरी तीन वर्षीया सुष्टि विक घाइते भएका छन्।
यस्तै, दाङको बबई गाउँपालिका– ६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकी तीन वर्षीया छोरी स्मृति बुढाथोकी, सिद्ध कुमाख– २ की ३८ वर्षीया धनी सुनार र ३९ वर्षीया पुष्पा सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ। सल्यान जिल्ला अस्पतालमा उपचारपश्चात् सातजनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए।
चालकसहित ११ जना सवार अटो अनियन्त्रित भएर सडकदेखि करिब पाँच मिटर तल खसेको छ। अटोचालक शारदा नगरपालिका– ६ का २५ वर्षीय अर्जुन डाँगी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।