प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सुरक्षा संयन्त्रको जिम्मेवारी निर्णायक हुने बताएकी छिन्। उनले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न नेपाल प्रहरीले व्यावसायिकता र उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइन्।
काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गरिन्। उनले राजनीतिक दबाब र पूर्वाग्रहबाट टाढा रहँदै संविधान र कानुनअनुसार काम गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्।
प्रधानमन्त्रीका अनुसार प्रहरीको निष्पक्षता र जिम्मेवारीले नागरिक र राज्यबिचको विश्वास अझ बलियो बनाउँदै आएको छ। साथै, उनले साइबर, संगठित, वित्तीय तथा सीमापार अपराधजस्ता नयाँ चुनौती सामना गर्न प्रहरी नेतृत्वले सक्रिय र समाधानमुखी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन्।