नेपालको वित्तीय समावेशीकरण सूचकांकमा सुधार

सूचकांक ०.४७ बाट ०.५३ पुग्यो : पहुँच, उपयोग र गुणस्तर तीनवटै पक्षमा सुधार देखियो

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण

 नेपालमा वित्तीय सेवामा नागरिकको पहुँच र प्रयोग बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा समग्र सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ ।राष्ट्र बैंकले मानव विकास सूचकांकजस्तै विधि अपनाएर यो सूचकांक तयार गरेको हो । यसमा ० देखि १ अंकसम्म मापन गरिन्छ । अंक जति बढी भयो, वित्तीय समावेशीकरण त्यति राम्रो भएको मानिन्छ । सूचकांक निर्माणका लागि ५५ वटा फरक–फरक मापदण्ड प्रयोग गरिएको छ । यसलाई तीन भागमा बाँडिएको छ : वित्तीय पहुँच, सेवाको उपयोग र सेवाको गुणस्तर ।

सूचकांकमा पहुँचलाई ३५ प्रतिशत, उपयोगलाई ४५ प्रतिशत र गुणस्तरलाई २० प्रतिशत भार दिइएको छ । पछिल्लो वर्ष यी तीनवटै क्षेत्रमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । पहुँच सूचक ०.४७ बाट बढेर ०.५३ पुगेको छ । देशभर बैंक तथा वित्तीय संस्थाका शाखा, सेवा केन्द्र र डिजिटल माध्यम विस्तार भएकाले नागरिकले सेवा लिन सजिलो भएको देखिन्छ ।

उपयोग सूचक ०.४९ बाट उक्लिएर ०.५४ पुगेको छ । बैंक खाता सञ्चालन, डिजिटल भुक्तानी, बिमा तथा अन्य वित्तीय सेवाको प्रयोग बढेको पाइएको छ ।गुणस्तर सूचकमा सुधार परेर ०.४९ बाट ०.५० पुगेको छ । वित्तीय साक्षरता, उपभोक्ता संरक्षण, सेवा पारदर्शिता र ग्राहक अनुभवमा सुधार आएको जनाइएको छ । राष्ट्र बैंकका अनुसार यी उपलब्धि नीति सुधार, डिजिटल बैंकिङको विस्तार र नियामकीय पहलका परिणाम हुन् । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, अनलाइन सेवा र गाउँ–गाउँसम्म पुगेका वित्तीय संस्थाले आमनागरिकलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न सहयोग पुगेको छ । तर, अझै सबै वर्ग र क्षेत्रमा समान पहुँच पु¥याउन चुनौती कायमै रहेको राष्ट्र बैंकको ठहर छ ।
 

सुझावित समाचार