आइतबार : १० बजेसम्मका १० मुख्य खबर

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

इरानमा १० नेपाली, तत्काल बाहिर निस्कन परराष्ट्रको आह्वान

परराष्ट्र मन्त्रालयले इरानमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म इरान यात्रा नगर्न र इरानमा रहेका नेपाली नागरिकहरूलाई यथाशीघ्र छाड्न आह्वान गरेको छ।

बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै परराष्ट्रले समन्वय तथा आवश्यक सहयोगका लागि कतारको दोहास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

इरानमा सरकारविरोधी प्रदर्शनले उग्ररूप लिँदै जाँदा भूराजनीतिक तनावसमेत बढेको छ। हालसम्म प्रदर्शनमा २५ हजारभन्दा बढी मानिस मारिएका छन् भने सरकार र असन्तुष्ट पक्ष आमनेसामने द्वन्द्वको अवस्थामा छन्।

आयोगले स्पष्टीकरण सोधेका २१ मध्ये १२ ले दिए जवाफ

निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये १२ राजनीतिक दल तथा उम्मेदवारले जवाफ दिएका छन्। आयोगले आचारसंहिता उल्लंघनको उजुरी परेका २१ दल तथा उम्मेदवारसँग जवाफ मागेको थियो।

साताभर गरेका कामको जानकारी दिँदै आयोगले भनेको छ, ‘केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा १२ वटाको जवाफ प्राप्त भएको छ। समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनको क्रममा रहेका छन्।’

जनवरी ०२६ मा नेपालमा बाह्य पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

सन् २०२६ को जनवरीमा नेपालमा बाह्य पर्यटक आगमनमा १५.७ प्रतिशतले वृद्धि भएकाे छ।  नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ बाह्य पर्यटक नेपाल आएका हुन्।

यो संख्या सन् ०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो। साथै, कोभिड–१९ महामारीपूर्व सन् ०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि आगमन १४ प्रतिशतले उच्च रहेको बोर्डले जनाएको छ।

जनवरीको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये भारत पहिलो स्थानमा छ। भारतबाट  भारतबाट: २६ हजार ६२४ (२८.८%) पर्यटक आएका छन्। त्यस्तै चीनबाट: ९ हजार १०१ (९.८%), अमेरिकाबाट ८ हजार ४०६ (९.१%), बंगलादेशबाट ५ हजार ८१४ (६.३%)र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४%) पर्यटक आएका छन्। 

पाकिस्तानले विश्वकप खेल्ने, भारतसँगको प्रतिस्पर्धा बहिष्कार गर्ने

आगामी साताबाट सुरु हुन लागेको टी–२० विश्वकपमा पाकिस्तानले भारतसँगको खेल नखेल्ने भएको छ। पाकिस्तान सरकारले विश्वकपमा भाग लिने, तर भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको हो।

विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा छन्। समूह चरणमा भारत र पाकिस्तानको खेल १५ फेब्रुअरीमा छ। पाकिस्तानले विश्वकपमा भाग लिने–नलिने विषयमा अन्योल रहँदै आएको थियो। जसमा आइतबार विश्वकपमा भाग लिने, तर भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको हो।

युएईमा २६७ नेपाली कैदीबन्दीले पाए आममाफी

संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवस (इद अल–इत्तिहाद)को अवसरमा त्यहाँका विभिन्न जेलमा रहेका २६७ जना नेपाली कैदीबन्दीले क्षमादान पाएका छन्।

उनीहरूले त्यहाँको कानुनी प्रक्रिया पूरा गरेर स्वदेश फर्कन पाउनेछन्। नेपाल सरकारले युएई सरकारद्वारा उदारतापूर्वक प्रदान गरिएको क्षमादानका लागि कृतज्ञता ज्ञापन गरेको छ।

‘क्षमादान पाएका नेपालीहरू त्यहाँको कानुनी प्रक्रियाहरू पूरा गरेपछि नेपाल आउनुहुन्छ। नेपाल सरकारले यस क्षमादानलाई नेपाल र संयुक्त अरब इमिरेट्सबिच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मित्रता, सद्भावना तथा सौहार्दताको प्रतिफलका रूपमा लिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने।

साँगामा अन्डरपास निर्माणले पायो तीव्रता

भक्तपुर र काभ्रेपलान्चोकको सीमा क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्यले तीव्रता पाएको छ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले अन्डरपास निर्माण गरिरहेको छ। उक्त अन्डरपासको लम्बाइ एक हजार ११० मिटर रहनेछ।

तोलामा १८ हजार आठ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १८ हजार आठ सय रुपैयाँले घट्दै तीन लाख रुपैयाँमा झरेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेखनीय कमी आएको छ। आज चाँदी प्रतितोला एक हजार पाँच सय ६५ रुपैयाँले घटेर पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य प्रतितोला सात हजार ६५ रुपैयाँ रहेको थियो।

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष तथा कला पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचाररत उनको आज मध्याह्न १२ः४५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक सार्वजनिक अभियान कार्यक्रममा सहभागी हुँदा अचानक बेहोस हुनुभएको थियो, तुरुन्तै उहाँलाई अछाम जिल्ला अस्पतालमा लगिएको थियो जहाँ उहाँको श्वास–प्रश्वास रहेको थिएन।

लोकसेवामा नक्कली परीक्षार्थी : परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षाबाट नक्कली परीक्षार्थीसहित प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार भएको परीक्षामा आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिने र दिन लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएको अवस्थामा फेला पारेर पक्राउ गरी लिखत किर्ते तथा आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए।

नवलपुरमा सडक कालोपत्रेसँगै चालकको लापरबाही बढ्यो, पुस महिनामा मात्रै २६ वटा दुर्घटनामा आठजनाको मृत्यु

नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेखण्डबाहेक अधिकांश क्षेत्रमा कालोपत्रेको काम सकिएसँगै यहाँ तीव्रगतिका कारण सवारी दुर्घटना हुने क्रम अत्यधिक बढेको छ ।

नारायणगढ–बुटवल सडक कालोपत्रे भएपछि यात्रा सहज हुँदा सवारीचालकले तीव्र गतिमा सवारीसाधन हाँक्ने गर्दा दुर्घटना बढेको हो । जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार पछिल्लो ६ महिनाको अवधlमा ६३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी दुर्घटनाको कारण भनेको तीव्र गति नै देखिन्छ । ६३ वटा दुर्घटनामध्ये ४५ वटा सवारी दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरको तथ्यांकले देखाएको छ ।

यो ६ महिनाको अवधिमा सबैभन्दा बढी दुर्घटना पुस महिनामा मात्रै भएको छ । पुुस महिनामा मात्रै २६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । ती दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको छ ।

सुझावित समाचार