भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपाली राष्ट्रिय टिम विजयी भएको छ । शनिबार नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हरायो ।
ब्रेबन क्रिकेट स्टेडियम टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८४ रनको लक्ष्य दिएको थियो । नेपालका लागि आरिफ सेखले अर्धशतक बनाएका थिए । प्रत्युत्तरमा मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
मुम्बईका लागि ओपनर मुलचन्दानीले सर्वाधिक ४७ तथा अर्का ओपनर सक्सेनाले २३ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशी र गुल्सनकुमार झाले समान २ विकेट लिएका थिए ।
यसअघि नेपालका लागि आरिफले ४२ बलमा ६६ बनाएका हुन् । गुल्सनले २३ रनको योगदान गरेका थिए । मुम्बईका मंगुकिया र चाभानले समान २ विकेट लिएका थिए । विश्वकपमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीको सामना गर्नेछ । नेपालले सबै खेल मुम्बईमा खेल्दा पहिलो खेल इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका छ ।