बदलिन बदल्नुपर्ने मनको सामग्री

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

जेन–जी पुस्ताले गरेको आन्दोलनले २१ फागुनमा संघीय संसद्को निर्वाचन हुने सुनिश्चिततासँगै देशको अवस्था बदल्ने अवसर सिर्जना गरेको छ । आखिर देश व्यक्तिहरू मिलेर बनेको हुन्छ । व्यक्तिले जीवनलाई दु:ख र संघर्ष ठान्ने हुँदा बदलिएर सुखी हुन चाहन्छ । चाहेर मात्रै बदलाव आउँदैन । सुखी हुने चाहना अधुरो रहँदा झनै दु:खी हुँदै बित्छ जीवन ।

चिनियाँ दार्शनिक लाओत्सुले जीवन बदल्ने सूत्र दिएका छन् । सूत्र हो बदलिन चाहने मानिसले पहिला आफ्नो मनको सामग्री (मनमा संग्रहित विषय) बदल्ने । हरेक मानिस उसकै मनको सामग्री हो भन्दै लाओत्सुले जबतक मनका विषय वा सामग्री तिनै छन् जो आज छन्, तबतक ऊ त्यस्तै रहन्छ जो आज छ भन्ने तर्क गर्छन् । हुन पनि मनमा जे–जस्ता विषय छन्, तिनले मानिसलाई त्यस्तै बनाइरहेको पाउँछौँ हामी । कर्म मनबाट उत्पन्न हुने र मनबाटै कर्म गर्ने शक्ति मिल्ने हुँदा जहाँ मन त्यहाँ कर्म पनि साथै हुन्छ । कर्मको दुष्प्रयोजन गराउने उत्प्रेरक, अहंकार र स्वार्थ मनमै बसेका हुन्छन् । तसर्थ, मनका सामग्री नबदलेसम्म मानिस बदलिन सक्दैन भन्ने लाओत्सुको भनाइमा यथार्थता झल्किन्छ ।

मानिसभित्रको अहं झुटो हो । विषयहरूको सहाराले मात्र अस्तित्वमा छ अहं । विषयहरूलाई सहारा दिएर राखेको छ, स्मृतिले । स्मृतिमा तिनै विषय छन्, जो वर्षौंपहिले थिए । बदलिनका लागि ती स्मृतिमा रहेका विषयको याद हटाउने प्रयास गर्नुपर्छ । किनकि स्मृति पनि प्रयासबाट नै राखिएको हुन्छ । प्रयास दुई किसिमले हुन्छ । एक चैतन्यस्वरूप र अर्को कुनै अचेतन स्वार्थ ।

घरमा भएका सबै कुरा स्मृतिमा बसेका हुँदैनन् । मनले यादमा राख्ने प्रयास गर्दै स्मृति बनाएर मनमा राखेका विषय मात्र याद आउँछ । याद विषयको मात्र राखिँदैन, विषयहरूको सम्बन्धबारेसमेत धेरैखाले याद राखिन्छ, जसलाई ज्ञान भनिन्छ । ज्ञान पनि स्मृति मात्र हो । स्मृति गयो भने ज्ञान पनि रहँदैन । सबै कुरा याद राखिँदैनन्, राखेर साध्य पनि लाग्दैन । केवल अहंले आफूलाई चाहिने विषय मात्र स्मृतिमा राख्छ । यिनै स्मृतिका विषयको माध्यमबाट अहंको अस्तित्व रहेको हुन्छ । अहंले आश्रय लिएका विषय मनबाट हटाएपछि अहं स्वत: हट्छ । मानिसको स्वभाव आनन्द हो, अहंको बाक्लो पत्रले मानिसको वास्तविक स्वभाव आनन्दलाई ढाकेर दु:खी बनाएको अहं हटनासाथ स्वतस्फूर्त आनन्दानुभूति गर्छ मानिस ।

रेल गुडेको देखिन्छ, गुडाउने बाफ देखिँदैन । पंखा घुमेको देखिन्छ, घुमाउने विद्युत् देखिन्न । आगो बल्दैन, दाउरा बल्छ । त्यसैगरी, आत्माले कार्य गर्दैन, कार्य शरीर, मन र बुद्धिले गर्छ । कार्य गर्ने शक्ति आत्माले दिएको हुन्छ । आत्माको आडमा शरीर मन र बुद्धिले कार्य गरे भने दु:ख र तनावबाट मुक्त हुन्छ जीवन । अहंको लहडमा मानिस चल्यो भने तिनै दु:ख र तनावको बन्धनमा पर्छ । नि:स्वार्थ भावले कर्म गरे आत्माको आड मिल्दै कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने क्षमता विकसित हुन्छ । यो क्षमता विकसित हुन आफ्नै कर्महरूको साक्षी बन्दै कर्ता–भोक्ताको भाव मनबाट हटाउनुपर्छ । कर्ता–भोक्ता भाव हटाउन कामनारहित हुनुपर्छ । भविष्यमा विषयोपभोगद्वारा सुख पाउने बुद्धिको योजना हो कामना । कामनाले परिस्थितिलाई आफ्नो अनुकूल बनाउने आग्रह पाल्दै उपलब्ध परिस्थितिमा असन्तुष्ट राख्छ ।

भविष्यलाई अनुकूल बनाउने भ्रममा पार्छ । कहिल्यै नआउने भविष्य अनुकूल हुने कुरै आएन । उल्टै बिघ्नबाधा निम्तिएर जीवन आनन्दित र प्रेरणादायी बन्नबाट वञ्चित रहन्छ । तसर्थ, सुखी हुन मनबाट कामनाका विषय हटाएर निष्कामताको भाव राख्ने प्रयास गर्नुपर्छ । निष्कामताको अर्थ फल चाहिँदैन भन्ने होइन, भविष्यको फलको चिन्तामा अपव्यय हुने मनको शक्ति कर्म कुशल बनाउन सदुपयोग गरी फल सुनिश्चित गराउने जुक्ति हो । निष्कामताको भाव आत्मज्ञानबाट मात्र आउँछ । आत्मज्ञानी हुन पहिला शक्ति लगाउनुपर्छ । शक्ति हो प्रेम । प्रेम कोसँग गरिँदै छ चिन्नुपर्छ ।

चिनेर गरेको प्रेमले बदलाव ल्याउँदै आनन्द दिन्छ, भलै प्रेम गरेका कारणले दु:ख व्यहोर्नै परे पनि । नचिनी प्रेम गरिएको छ भने प्रेम होइन माया हो र गरिएको वस्तु पनि झुटो छ र बदलाव ल्याउँदैन । हाम्रो मनले अहंलाई आत्मा मानेर माया गर्दै विषयको बन्धन खडा गरी बाँधेको छ । शक्ति लगाएर प्राप्त गरेको शक्तिले जीवन आवाद गर्छ, फ्रीमा मिलेको कुराले भएको शक्तिसमेत नष्ट गरेर जीवन बर्बाद पार्छ भन्छन्, भारतीय आध्यात्मिक गुरु आचार्य प्रशान्त । राग, द्वेष, मोह र आसक्ति मनमा आफैँ आउँछन्, माया त्यत्तिकै लाग्छ र दु:खमा धकेल्छ । मन निर्मल बनाउन प्रयत्नपूर्वक शील, समाधि र प्रज्ञाको सिँढी चढ्नुपर्छ ।

मन सदा भूत र भविष्यका विषयले भरिएको हुन्छ । सफलता वर्तमानले मात्र दिन्छ । पूर्ण लगनसाथ वर्तमानमा कार्य गर्नु नै सफलता हो । बुद्धिमत्तापूर्वक बाँच्दै कुशलतापूर्वक कार्य गर्न जान्ने व्यक्ति कर्ममा आनन्द मानेर रमाउँछ । बुद्धिमत्तापूर्वक बाँच्नु भनेको मनलाई वर्तमानमा टिकाउनु हो । वर्तमान भनेको सत्य हो । सत्य नै आत्मा हो । मन सदा दिव्य चैतन्यस्वरूपमा राखेर कर्म गर्दा आनन्दको अनुभव हुन्छ । भूत र भविष्य कामनाको स्रोत हो । ज्ञानले सबै कर्म कामना र संकल्परहित भएर गराउँछ । ज्ञानीले कर्मफल त्यागेको हुँदैन, केवल फलप्रतिको मानसिक हठ तथा आसक्ति त्यागेको हुन्छ । किनकि, इच्छित फलको चिन्ता लिएमा कर्म कुशलतापूर्वक गर्न सकिँदैन । त्यसैले बदलिन चाहनेले पहिला मनमा भएका भूत र भविष्यका विषय हटाउनुपर्छ ।

मनका विषय हटाउने विधि आत्मानुभूति नै हो । मनलाई वर्तमानमा टिकाउनु आत्मोन्नतिको दिशामा अघि बढ्नु हो । आत्मोन्नति आत्मावलोकन हो । आत्मावलोकनले अहंकार नष्ट हुन्छ । अहंकार नष्ट भएपछि केवल शरीरद्वारा गरिएको कर्ममा अन्तस्करणमा नयाँ संस्कार उत्पन्न गर्न सक्ने सामथ्र्य हुँदैन । अन्तस्करण संयमित र शुद्ध हुन्छ । अन्तस्करणको पूर्ण संयमता नै अहंकाररहित अवस्था हो ।

समुद्रको बारेमा एकपटक जानेपछि समुद्री लहर स्वत: जानेजस्तै आत्मानुभूति भएपछि बाह्य विषय, भावना एवं विचारको सम्पूर्ण सृष्टि आत्मैमा देखिन्छ । आत्मनिरीक्षणद्वारा आफ्नै अध्ययन गरेर दुर्बलता चिन्दै हटाउने उपाय स्वाध्याय हो । स्वाध्याय साधकका लागि आत्मविकासको साधन हो भने सिद्ध पुरुषका लागि आत्मानुभवमा रमण गर्ने साधन । विचारणीय पक्ष के छ भने ज्ञानोपदेश दिने गुरुमा आध्यात्मिक शास्त्रको पूर्णज्ञान र सत्यको अनुभवमा दृढताको गुण हुनैपर्छ । पुस्तकीय ज्ञान धेरै भए पण्डित हुन सकिन्छ, गुरु हुन सकिँदैन । सच्चा गुरु हुन तत्वदर्शी पनि हुनु अनिवार्य छ ।

अहंलाई चिन्न सके मनको सामग्री बदलिन्छ । अहं असुरक्षाको भाव मात्र हो । भाव तथ्य होइन, कल्पना हो । तथ्य हुन्– विषयहरू । विषय दुईखाले हुन्छन् । एक– भएका र अर्को– चाहेका । यी दुईखाले विषय अन्तरसम्बन्धित छन् । विषय हुन्– व्यक्ति, वस्तु र विचार । तथ्य सत्यको द्वार हो । सत्य हो आत्मा । शरीर तथ्य हो, आत्मा सत्य हो, जो सर्वकालिक र सर्वत्र छ । त्यसैले, आत्मा त स्वत: छँदै छ । आत्मा नष्ट हुँदैन, अजर अमर छ । आत्मा सदा जेठो छ, तर पहिचान गर्न प्रेमको शक्ति लगाउनुपर्छ । प्रेम समर्पण हो, आफूलाई मेटाउन तयार भएर गरिन्छ । अहंभाव आफैँ उत्पन्न हुन्छ । स्वतस्फूर्त आउने कुराले जीवनमा दु:ख र अशान्ति ल्याउँछ भन्छन् आचार्य प्रशान्तले । 

अहं अस्तित्वमा आउन षड्यन्त्र गर्छ । जीवनको लक्ष्य के हो भन्ने प्रश्नमा नै अहंको षड्यन्त्र छ । षड्यन्त्र हो, अहंले आफूलाई लुकाएर राखेको छ र लक्ष्य अघि सारेर आफू स्वत: छु भन्ने आभास दिलाएको छ । अहंको वास्तविक अस्तित्व छैन, केवल दाबी मात्र हो अहं । लक्ष्यका विषय अघि सारेर विषयमार्फत अस्तित्व देखाउँछ अहंले । अहंले कहिल्यै पनि म को हुँ भन्ने प्रश्न गर्दैन, गर्न चाहन्नँ । यो प्रश्न गर्यो भने शरीरबाट उत्पन्न भएको असुरक्षाको भाव रूपी झुटो अहं स्वत: मेटिन्छ । शरीर र मन होईन जीवन । जीवन त साक्षी चेतन हो । मन र शरीर त साक्षी चेतनाको वाहन हो । चेतन साक्षी भाव आत्मा जो म को हुँ भन्ने प्रश्नमा नेतिनेति (म यो पनि होइन, ऊ पनि होइन भन्दै सत्य पत्ता लगाउने विधि) को सूत्र प्रयोग गर्दा स्वअनुभूति हुन्छ । 

मनको सामग्री फेरबदल गर्न मनमा खेलिरहने धर्म, अध्यात्म, भगवान्, ईश्वर, आत्मा, सत्य र ब्रह्मको भ्रम र यथार्थ बुझ्नुपर्छ । दु:ख निवारणको उपायको रूपमा जन्माइएको धर्मको अवधारणाको सुरुवाती जग अन्धविश्वासमा आधारित छ । किनकि, सुरुमा यो सारा सृष्टि सातौँ आसनमा बस्ने ईश्वरले रचेको र उसैद्वारा सञ्चालित छ, उसको इच्छाविना पात पनि हल्लिँदैन भनियो । पछि विज्ञानले सारा सृष्टि प्रकृति स्वयंले गरेको हो र प्रकृतिको नियमद्वारा नै सञ्चालित छ भन्ने प्रमाणित गर्यो । विज्ञानभन्दा पनि अघि बढेर अध्यात्मले प्रकृतिको आदि र अन्त्यमा सत्य छ । सत्य भनेको आत्मा हो । जसलाई ब्रह्म पनि भनिन्छ । त्यही आत्मा नै प्रकृतिको स्रोत हो । प्रकृति अलग होइन, छैन । आत्मा अनन्त र सर्वत्र छ । आत्माले नै सृष्टि र सञ्चालन गरेको छ । आत्मा घटघटमा छ । हृदय नै आत्मा हो । असली ईश्वर आत्मा हो भन्ने सत्य पत्ता लगायो । 

अन्त्यमा, नाजुक अवस्थामा रहेको देशको अवस्था बदल्न हिजोका स्मृतिले भरिएको नेता र जनताको मन खाली गरेर निर्मल राख्दै वर्तमानमा देशले खोजेको सुशासनको आधारशिला खडा गर्न फागुन एक्काइसको निर्वाचन सदुपयोग गर्ने कुरामा केन्द्रित गर्न जरुरी छ ।

सुझावित समाचार