नेपाली लोकसंगीतमा परम्परा र आधुनिकताका सेतुमध्ये एक हुन्, सारंगीवादक किरण नेपाली । चर्चित ‘कुटुम्ब’ ब्यान्डका प्रमुख सारंगीवादकसमेत रहेका उनले ‘प्रोजेक्ट सारंगी’मार्फत नयाँ पुस्तालाई सारंगी सिकाउँदै आएका छन् । सारंगीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन उनी निरन्तर लागिपरेका छन् । सारंगीको संरक्षण र विकासबारे नेपालीले पवन बराइलीलाई आफ्नो अनुभव सुनाएका छन् :
सारंगी मेरो पेसा मात्र होइन, मेरो इतिहास, पहिचान र समाजसँगको सम्बन्ध हो । मेरो हजुरबुबाले सारंगी बजाउनुहुन्थ्यो । बुबाले पनि केही समय बजाउनुभयो, तर पेसा बनाउनुभएन । म कीर्तिपुरमा जन्मिएँ, त्यहीँ हुर्किएँ । इतिहासले भन्छ, पृथ्वीनारायण शाहले गोर्खाबाट कीर्तिपुर विजय गर्दा गन्धर्वहरूलाई पनि सँगै ल्याएका थिए । त्यसवेला गन्धर्वहरू राज्यका ‘सूचनावाहक’ थिए । देश–विदेशका खबर, युद्धका सूचना, राजकीय सन्देश, सबै गाउँगाउँमा सारंगीको धुनसँगै पुर्याउँथे ।
हजुरबुबाले दरबारमा गई सारंगी बजाउनुभयो । राजा महेन्द्रको पालामा पनि हजुरबुबा दरबारमा सारंगी बजाउन जानुहुन्थ्यो । तर, समय फेरियो । राजतन्त्र गयो, संरचना बदलियो । सारंगी बजाउने भनेपछि समाजको दृष्टिकोण एउटै थियो, सानो जातको बाजा, गन्धर्वले मात्रै बजाउने, यसबाट के हुन्छ र ? सारंगीसँगै गन्धर्व पेसा पनि ओझेलमा पर्न थाल्यो ।
बाल्यकालदेखि नै सारंगी बजाउनेलाई हेपेको देख्थेँ । त्यसैले बुबाको चाहना थियो, ‘छोरो पढोस्, जागिर खाओस्, सारंगी नबजाओस् ।’ बुबाको बुझाइ गलत थिएन । समाज नै त्यस्तो थियो । घरमा बुबाले अरूलाई सारंगी सिकाउनुहुन्थ्यो । झ्यालबाट लुकेर हेर्थें । भित्रभित्रै बजाउन आतुर थिएँ, तर भन्न सक्दिनथेँ । सारंगी मेरो रगतमा थियो, तर छुने आँट थिएन । त्यही कारण होला, म गितारतिर लागेँ । स्कुल, कलेज, ब्यान्ड, होटेल, सबैतिर गितार नै बजाएँ । गितारमा सम्मान थियो, पैसा थियो, अवसर थियो । १७ वर्षसम्म गितार मेरो मुख्य बाजा बन्यो । पेसागत रूपमा सफल पनि भएँ । तर, मभित्र कतै खालीपन थियो । असन्तुष्टि थियो । मलाई सारंगीको धुनले निरन्तर तानिरह्यो । किनभने त्यो धुन मेरो पुर्खाको थियो, मेरो इतिहासको थियो । मैले साहस गरेर सारंगी बजाएँ । सारंगी समातेको ६ महिनामै ‘कुटुम्ब’ ब्यान्डमा आबद्ध भएँ ।
बजारमा पाइने सारंगीको गुणस्तरबाट सन्तुष्ट थिइनँ । कहाँ किन्ने ? बिग्रिएपछि के गर्ने ? पोस्ट–सर्भिस नै थिएन । लामो अध्ययनपछि कीर्तिपुरमै सारंगी कारखाना खोलेँ । त्यसपछि सुरु भयो, ‘प्रोजेक्ट सारंगी’ । अहिले विदेशीसमेत सिक्न आउँछन् । पछिल्लो समय सांरगीप्रतिको हेराइ परिवर्तन भएको छ ।
सारंगीको बदलिँदो यात्रा
सारंगी गन्धर्व समुदायको पहिचान बोकेको बाजा हो । कुनै समय यो जीविकाको मुख्य आधार पनि थियो । पछिल्लो समय गैर–गन्धर्व युवाहरूको समेत यसप्रति आकर्षण बढ्दै गएको छ । यसलाई हामीले प्रतिस्पर्धाको रूपमा होइन, संरक्षण र विस्तारको अवसर हो भन्ने बुझ्नुपर्छ । हिजोआज गैरगन्धर्वले सारंगी बजाए भने गन्धर्वको पेसा खोसिन्छ भनेको सुनिन्छ । गैरगन्धर्व सारंगीवादक सक्रिय हुनु भनेको सारंगीको संरक्षणमा थप टेवा पुग्नु हो । यसलाई संकट होइन, संरक्षणको रूपमा हेर्नुपर्छ ।
अहिले सारंगीको बजार विस्तार भएको छ । यसको गुणस्तर सुधारिएको छ, प्रस्तुति र प्रयोगको दायरा पनि फराकिलो भएको छ । जति धेरै मानिसको आकर्षण बढ्छ, त्यति नै नयाँ आइडिया जन्मिन्छन् । सारंगीलाई सबै समुदायले अँगाल्न थाल्यो भने त्यसको विस्तार व्यापक हुन्छ ।
क्षणिक रूपमा गन्धर्व समुदायलाई केही अप्ठ्यारो पर्न सक्छ । तर, दीर्घकालीन रूपमा लाभदायक नै हुन्छ । गन्धर्व समुदायले कुनै समय छोड्दै गएको सारंगीलाई अहिले फेरि आत्मसात् गर्न थालेका छन् । परम्परागत रूपमा सीमित रहेका गन्धर्व परिवारका नयाँ पुस्ताले सारंगीलाई परिमार्जन गर्दै अघि बढेका छन्, जुन अत्यन्त सकारात्मक पक्ष हो । अहिले उनीहरू यस क्षेत्रमा व्यावसायिक रूपमा समेत सक्रिय हुन थालेका छन् । कुनै समय बाबुले छोरालाई मात्रै सारंगी सिकाउने चलन थियो । अहिले पाठ्यक्रम बनाएर विद्यालयमै समेत सारंगी सिकाउन थालिएको छ । सारंगीको सिकाइमा पनि परिवर्तन आएको छ ।
सारंगी भन्नेबित्तिकै आफ्नोपनको अनुभूति हुन्छ । जुनसुकै जात, समुदायका मानिसलाई पनि सारंगीको धुनले तान्छ । यसले मानिसको मनसँग गहिरो सम्बन्ध जोड्छ । अहिले सारंगी केवल बजाउनेमा मात्र सीमित छैन, बनाउनेहरूको संख्या पनि बढ्दै गएको छ । पहिले धेरै गन्धर्वहरू जीविकोपार्जनका लागि बिदेसिन बाध्य थिए । अहिले भने सारंगी बनाएर नै जीवनयापन गर्न सक्ने अवस्था बन्दै गएको छ । यसले सीप अभिवृद्धि गरेको छ, र नयाँ सम्भावनाहरू सिर्जना गरेको छ ।
सारंगी नेपालीको साझा बाजा भन्ने धारणा विस्तार हुँदै जानु सकारात्मक परिवर्तन हो । तर, यही बाजाबाट सदियौँदेखि जीविका चलाउँदै आएका गन्धर्व समुदायको सामाजिक–आर्थिक सुरक्षा कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्न पनि सँगसँगै उठ्छ । संरक्षण र विस्तारको नाममा परम्परागत समुदायको अस्तित्व लोप हुन नदिनु हाम्रो दायित्व हो ।
सारंगी धुनलाई बजाउँदा प्रशंसा गरिन्छ । तर, अझै पनि सारंगीलाई जातसँग जोडेर हेरिने दृष्टिकोण उस्तै छ । यही नै हाम्रो समाजको ठुलो विरोधाभास हो । यो सोच भत्किन समय लाग्छ । म आफैँ गाउँमा सारंगी बोकेर जाँदा हेर्ने नजर फरक भएको महसुस गर्छु । त्यही अरूका लागि कला बन्छ, गन्धर्वका लागि पहिचान र हीनतासँग जोडिन्छ ।
तर, मैले आफूले बोकेको बाजालाई कति गर्वका साथ प्रस्तुत गर्छु ? मेरो आत्मविश्वास, प्रस्तुतिले पनि दृष्टिकोण बदल्न सक्छ । गाउँमा सारंगी बजाउने गन्धर्वको भोगाइ आज पनि उस्तै छ, उसलाई हेर्ने दृष्टिकोण पनि उस्तै छ । हामी अझै पुरानो सोचमै अड्किएका छौँ । त्यसैले, बाजालाई होइन, दृष्टिकोणलाई बदल्नुपर्छ ।
मसँग सारंगी सिक्न आएका एक ब्राह्मण समुदायका विद्यार्थीको अनुभव यसैको उदाहरण हो । उनले भने, ‘म सारंगी सिक्न आउँछु, तर घरमा चाहिँ सारंगी लान्नँ ।’ उनले आफ्नो घरमा बुबाआमालाई भन्न डराएका थिए । मैले भनेँ, ‘सारंगी घरमै लैजाऊ, केही भयो भने म जिम्मा लिन्छु ।’ सुरुमा उनका बुबा रिसाएछन् । तर पछि, सारंगी बजाएर देश र आफूलाई चिनाउन सकिन्छ भन्ने बुझेछन् । त्यसपछि दृष्टिकोण बदलियो । नेपालको कुनै पनि रैथाने बाजा जात विशेषको होइन । यी सबै लोकबाजा हुन्, सबैका साझा सम्पदा । सारंगी सबैले सिक्नुपर्ने बाजा हो ।
मैथिली संगीत मिथिलाको मात्र होइन, मेरो पनि हो । सिक्ने र बजाउने दायित्व मेरो पनि हो । सुदूरपश्चिमको देउडा, पूर्वको साकेला त्यहाँको मात्रै संगीत होइन, यी सबै नेपालीले बुझ्नुपर्ने, सिक्नुपर्ने संगीत हुन् । बाजालाई टुक्र्याएर, जात र भूगोलमा बाँधेर हेर्नुहुँदैन । यी सबै हामी नेपालीका साझा संगीत हुन्, जब हामी देशको संगीतलाई ‘मेरो संगीत’ भन्न थाल्छौँ, तब मात्रै बाजाको वास्तविक संरक्षण र विस्तार सम्भव छ ।
समयको दस्ताबेज र पीडाको आवाज
सारंगी हाम्रा पुर्खाले अनेकौँ प्रतिकूल समयसँग जुध्दै जोगाएको अमूल्य सम्पदा हो । यो केवल तारको बाजा होइन, यो समयको दस्ताबेज हो, पीडाको आवाज हो, प्रेमको भाषा हो र परिवर्तनको साक्षी हो । किनभने, सारंगीले नेपाली समाजमा ठुलो इतिहास बोकेको छ । सारंगीको धुनले मानिसका कथा बोकेर आएको छ । ‘स्टोरी टेलिङ’को शक्तिशाली माध्यम हो सारंगी ।
सारंगीको धुनसँगै राजा–महाराजाको जीवनी भनिन्थ्यो । घटनाको कुरा गरिन्थ्यो । त्यसैले, मान्छेहरू सारंगी बजेको सुन्दा झुम्मिन्थे । चौतारीमा सारंगी बजाउँदा मान्छेहरू जम्मा हुन्थे । सारंगीमा कथावाचनको शक्ति थियो । त्यसैले, म सारंगीलाई पीडाको आवाज, समयको दस्ताबेज भन्न रुचाउँछु ।
गन्धर्वको ‘कर्खा’, इतिहास र पीडालाई आत्मसात् नगरी केवल धुन मात्र बजाउँदा सारंगीको आत्मा अधुरो हुँदैन ? यो आफैंमा महत्वपूर्ण प्रश्न हो । सारंगी केवल बाजा होइन, यो कथाको माध्यम थियो । गन्धर्वहरू औपचारिक विद्यालयमा पढ्न नपाए पनि कर्खामार्फत ज्ञान बोकेका हुन्थे । उनीहरूले रामायण, महाभारतको श्लोक गाउँथे । आज ती पराम्परा हराउँदै गए । कर्खा हराउनु हाम्रो इतिहास हराउनु हो ।
त्यसैले, केवल सीप सिकेर पुग्दैन, त्यसको सांस्कृतिक उत्तरदायित्व पनि बोक्नुपर्छ । सारंगी बजाउनु भनेको कथा भन्नु हो । सारंगीलाई सम्मान दिने समाजले गन्धर्वलाई घरभित्र छिर्न नदिएको यथार्थ अझै बदलिएको छैन । रोचक के छ भने, कुनै विदेशीले सारंगी बजायो भने विभेद क्षणभरमै हराउँछ । पुरानो मानसिकता अझै गएको छैन । अहिले सारंगी बजाउनेहरू बढेका छन् । धेरैले बजाउन थालेपछि समाजको दृष्टिकोण पक्कै बदलिन्छ ।
मैले गाउँघरको पिँढी, बाटो र चौतारीमा बज्ने सारंगीलाई मञ्चमा ल्याउने प्रयास गरेँ । प्रस्तुतिमा फरक ल्याएँ । सारंगी केवल दु:खको बाजा होइन, यो मनोरञ्जनको बाजा पनि हो भन्ने बुझाउने कोसिस गरेँ । सहरमा यो बुझाइ केही हदसम्म फैलिएको छ, तर गाउँसम्म पुग्न अझै बाँकी छ । सारंगीले सम्मान पाएको छ, तर सारंगी बजाउने गन्धर्वलाई हेर्ने दृष्टिकोण अझै उस्तै छ । राज्यले सारंगी र गन्धर्व समुदायलाई ‘संस्कृति’ भनेर सम्मानजनक शब्द प्रयोग गर्छ, तर व्यवहारमा देखिँदैन । यहाँ राज्य मात्र होइन, गन्धर्व समुदाय पनि जिम्मेवारी हुनुपर्छ । गन्धर्वको कर्खा के हो ? यसको महत्व के हो ? यसैको आधारमा नेपाललाई चिनाउनुपर्छ भनेर समुदाय आफैँ अगाडि आएको देखिँदैन । राज्यले पनि बुझेको छैन । ज्ञानको अभाव छ, जागरण छैन ।
कर्खाको शक्ति : धुन सिक्यौँ, कथा बिर्सियौँ
समाजको कथा, इतिहास, सबै कर्खासँग जोडिएको थियो । पुरानो पुस्ताले कर्खाको नियमित अभ्यास गर्थे । आज त्यो परम्परा टुट्यो । बाजेपुस्ताको सारंगी नातिपुस्ताले बजाउन बिर्सिँदै गए । आज सारंगी मञ्च र स्टुडियोमा पुगेको छ, तर बाटो, चौतारो र गाउँको पिँढीबाट हराउँदै छ । हामी जराविनाका हाँगाजस्तै भयौँ । अहिले फेरि जरा खोज्दै छौँ ।
नेपालीले आज गितारभन्दा सारंगी र मादल बजाउन खोजिरहेका छन् । गन्धर्व गाउँहरूमा नयाँ पुस्ताले फेरि सारंगी समात्न थालेका छन् । यो पुनर्जीवनको संकेत हो । अब सगरमाथा र बुद्धको फोटोले मात्र नेपाल चिनाउने जमना गयो । संगीतले देश चिनाउने समय आयो । विदेशमा म सारंगी बजाउँदा चिनिन्छु । ग्रामी अवार्ड विजेता संगीतकारसँग मञ्च सेयर गरेको छु । त्यो गितारले होइन, सारंगीले सम्भव भयो ।
अहिले र्याप पनि लोकप्रिय छ, किनभने स्टोरीटेलिङ छ । सारंगीसँग गाइने कर्खा पनि स्टोरीटेलिङ नै हो । म आफ्ना प्रस्तुति अघि गन्धर्व र सारंगीको इतिहास सुनाउँछु । जब इतिहाससँग संगीत जोडिन्छ, तब त्यो गहिरो हुन्छ । नेपाललाई ‘संगीतको देश’ भनेर चिनाउन सक्ने शक्ति सारंगीसँग छ ।