साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च कारोबार भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै गएकाले लगानीकर्ताको मनोबल बढेको हो ।
गत साताको बिहीबार २७१४.६१ विन्दुमा बन्द भएको नेप्से साताको पहिलो दिन आइतबार खुल्नेबित्तिकै ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको थियो । तर, सोमबारपछि नेप्से ओरालो लाग्यो ।
निर्वाचन हुने र त्यसपछि मुलुकमा राजनीतिक तथा आर्थिक स्थायित्व हुने अपेक्षामा लगानीकर्ता सेयर बजारमा झुम्मिने गर्छन् । तर, संसद् पुनर्स्थापनाको बहस पनि पेचिलो बन्दै गर्दा लगानीकर्ता अतालिएका छन् । त्यसको असर सेयर बजारमा पनि परेको छ ।
बुधबार बजार परिसूचक सामान्य बढे पनि अन्तिम दिन बिहीबार परिसूचक घटेको थियो । परिसूचक उतारचढाव भए पनि उच्च कारोबार भएको छ । यो साता सबैभन्दा बढी सोमबार १६ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो । अन्तिम दिन बिहीबार पनि कारोबार १४ अर्ब ३३ करोड पुगेको थियो ।