देश सम्हाल्ने प्रतिबद्धता गर्दै गगनले भने– सक्षम नेतृत्व आवश्यक छ

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुट–उपगुट अन्त्य भइसकेको बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवासँग नियमित संवाद भइरहेको भन्दै सभापति थापाले पार्टीभित्र गुट–उपगुट अन्त्य भइसकेको दाबी गरेका हुन्।

जनकपुरधामस्थित कांग्रेसको मधेश प्रदेश कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब रुख चुनाव चिह्न भएका उम्मेदवारलाई जिताउन सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

वर्तमान अवस्थामा देशलाई सम्हाल्ने र सुधार्ने शक्ति नेपाली कांग्रेससँग मात्रै रहेकाे उनकाे भनाइ थियाे। देश सक्षम नेतृत्वको खोजीमा रहेको बताउँदै उनले त्यो जिम्मेवारी कांग्रेसले मात्र बहन गर्न सक्ने बताए।

कांग्रेस भनेकै मधेश हो भन्ने बुझेर आफू मधेशबाट उम्मेदवार बनेको उल्लेख गर्दै थापाले मधेशसँगै समग्र देशलाई सम्हाल्ने प्रतिबद्धता व्यक्त गरे। देश सम्हाल्ने क्रममा मधेश कांग्रेसको प्राथमिकतामा रहने उनको भनाइ थियो।

सभापति थापाले नेपाली कांग्रेसको घोषणापत्र तयारीसम्बन्धी विशेष बैठकमा सहभागी हुन आफू दुई दिनका लागि काठमाडौँ जाने जानकारी दिँदै घोषणापत्रका मुख्य तीन विशेषतामध्ये एक मधेश हुने प्रस्ट पारे। नेपाली कांग्रेस युवा र जेन–जीको पार्टी भएको उल्लेख गर्दै थापाले ओझेलमा परेका मधेशका मुद्दा सम्बोधन गर्न सभा–सम्मेलनभन्दा घरदैलो अभियान प्रभावकारी हुने बताए।

भेलामा मधेश प्रदेशका आठवटै जिल्लाका सभापति, प्रदेश कार्यसमिति सदस्य तथा ३२ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारहरूको सहभागिता थियो। सभापति थापाले आजै मधेश प्रदेशका आठवटै जिल्लाका उम्मेदवार तथा जिल्ला सभापतिहरूसँग चुनावी अवस्थाबारे समेत छ्लफल गरेका छन्।

सुझावित समाचार