निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा आचारसंहिता उल्लंघन भए–नभएको अनुगमन गर्न दुईजना अनुगमन अधिकृत तोकिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे–नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले गर्ने आचारसंहिता पालना गरे–नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिए । ‘आगामी निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुन्छ । यसमा जिल्लास्थित सबै राजनीतिक दलका नेताहरू प्रतिबद्ध रहनुभएको छ,’ उनले भने, ‘कोही कसैले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खण्डमा अनुगमन अधिकृतहरूले कारबाही गर्नुहुन्छ । निर्वाचन आयोगले जिल्ला अनुगमन समितिलाई दिएको क्षेत्राधिकारभन्दा बाहिरका अर्थात् ठुला घटना भएको खण्डमा माथिल्लो निकायमा सिफारिस गरिन्छ ।’

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डाअंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए–नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए–नभएको विषय अनुगमन गर्नेछन् । निर्वाचन आचारसंहिताअनुसार सवारीसाधनको प्रयोग भए–नभएको, घोषणापत्र सार्वजनिक गरे–नगरेको, निर्वाचन प्रचारप्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैरसरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए–नलिएको, निर्वाचन खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे–नगरेकोलगायतका विषयमा अनुगमन गर्नेछन् ।

सुझावित समाचार