नेपाली सेनाका सबै कर्मचारीको जीवन बिमा गराइदिने भनेर एक करोड ८२ लाख रुपैयाँ ठगी भएको छ। ठगी गर्ने धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५ कटुन्जे घर भएका ४३ वर्षीय राजकुमार श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरी मुद्दा चलाएको हो।
उनले एक जीवन बिमा कम्पनीका अभिकर्तालाई ठगी गरेका हुन्। आफ्नो परिवारका व्यक्ति नेपाली सेनाको उच्च पदमा कार्यरत रहेको र देशैभरिका सेनाको उनीमार्फत बिमा गराइदिने आश्वासन दिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यसका लागि केही खर्च लाग्ने भन्दै उनले पटक–पटक गरेर एक करोड ८२ लाख ५० हजार लिएका हुन्। पछि सम्पर्कविहीन भएपछि बाँस्तोला यसबारे बुझ्न सेनामा गए। तर, उनलाई श्रेष्ठले दिएका पत्रहरू नक्कली भएको खुलेपछि उनी प्रहरीमा पुगेका हुन्।
उनलाई विश्वासमा पार्न श्रेष्ठले रक्षा मन्त्रालय तथा नेपाली सेनाका जर्नेलहरू कृष्णबहादुर जिसी, गौरवकुमार केसी, प्रकाशराज थापा, सुनीलसिंह राठौरलगायतले हस्ताक्षर गरेको पत्रहरू देखाएका थिए । रक्षा मन्त्रालयको ६ वटा पत्र बनाएका थिए। श्रेष्ठविरुद्ध प्रहरीले ठगीका साथै किर्ते मुद्दासमेत चलाएको छ ।
अभियुक्त श्रेष्ठ सनातम शक्ति नेपाल नामक संस्थाका अध्यक्ष हुन्। सोही संस्थाका सचिव शिवराज गजुरेलमार्फत उनको बिमा अभिकर्तासँग चिनजान भएको थियो।