कोशी प्रदेश सभाको हिउँदे अधिवेशन भाडाको सभागृहमा सुरु हुने

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपछि कोशी प्रदेश सभाको हिउँदे अधिवेशन २५ माघदेखि भाडाको भवनमा सुरु हुने भएको छ । बिहीबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी २५ माघदेखि विराटनगरको वीरेन्द्र सभागृह भाडामा लिएर सुरु गराउने  निर्णय गरेको हो । 

विराटनगर– ७ मा रहेको महानगरपालिकाको सभागृह भवन भाडामा लिएर कोशी प्रदेश सभाको हिउँदे अधिवेशन २५ माघदेखि सञ्चालन गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।   

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा विराटनगरको देवकोटा चाेकमा रहेको कोशी प्रदेश सभा भवन आगजनी र तोडफोडले ध्वस्त भएपछि २६ कात्तिकमा प्रदेश सभा सचिवालय मोरङको कटहरी– १ स्थित कृषि थोकबजारमा सरेको थियो ।

सरकारले कृषि थोकजारलाई नै स्तरोन्नति गरेर चाँडै संसद्को हिउँदे अधिवेशनको बैठक बोलाउने तयारी थालेको जानकारी पनि गराउँदै आएको थियो । तर, पछि  स्तरोन्नति कार्यमा ढिलाइ भएको भन्दै संसद् बैठक बोलाउन आलटाल गर्दै आएको थियो । सरकारले संवेदनशील समयमा पनि प्रदेश सभाको बैठक बोलाउन नचाहेको भन्दै विपक्षी दलहरूले चाँडो संसद्को बैठक बोलाउन दबाब दिँदै आएका थिए ।  
   

सुझावित समाचार