सर्लाहीमा देखिएको दादुराको ‘आउट ब्रेक’ले के संकेत गर्छ ?
यसबाट कतै हाम्रो खोप कार्यक्रम नै छुटेको या छुटाइएको त थिएन भन्ने प्रश्न उठेको छ । कुनै परिवार या समुदायले विशेष कारणवश खोप लगाउन नचाहेर छुटाएको पनि हुन सक्छ । दादुरालाई सामान्य रोग ठानेर खोप किन लगाइरहनुपर्यो र भन्ने सोचले पनि काम गरेको हुन सक्छ । फेरि राज्यले नै समुदायसम्म खोप र त्यससम्बन्धी शिक्षा पुर्याउन नसकेको पनि हुन सक्छ । बिचमा दादुराका निकै कम ‘केस’ देखिए । त्यसले गर्दा दादुराको गम्भीर प्रभाव नदेखेको पुस्ताले ‘जेनेरेसन ग्याप’का कारण पनि खोप आवश्यक नदेख्दा छुटेको पनि हुन सक्छ । कारण जेसुकै भए पनि यसरी ‘आउट ब्रेक’ भइसकेपछि अब यसको रोकथाममा राज्य, स्थानीय तह र समुदायले सक्रिय र प्रभावकारी भूमिका खेल्नुपर्छ । यसरी आउट ब्रेक हुनुमा कहाँनेर चुकियो, त्यसको खोजी गरी गल्ती, कमजोरी भएको भेटिए सुधार्नुपर्छ । अन्यथा, भोलि पोलियोलगायत अन्य रोगका हकमा पनि यही अवस्था नदोहोरिएला भन्न सकिन्न ।
यसले सन् २०३० सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्यमा कस्तो असर पार्ला ?
केही न केही असर त परी नै हाल्छ । तर, त्यसो भन्दैमा निराश भइहाल्नुपर्ने अवस्था भने छैन । सर्लाहीको आउट ब्रेकका सम्भावित कारणको खोजी गरी तिनको रोकथाममा प्रभावकारी कदम चाल्ने हो भने उन्मूलनको लक्ष्य भेट्टाउनै नसकिने भन्ने नहोला ।
उन्मूलनको लक्ष्य प्राप्तिका लागि सरकारले आगामी दिनमा के गर्नुपर्ला ?
यसका लागि सबैभन्दा पहिले सर्लाहीमा किन दादुरा देखियो, त्यसको कारण पहिचान गर्नु जरुरी छ । ‘स्पेसिफिक’ कारण पहिल्याएर त्यसको रोकथामका लागि सरकारले प्रभावकारी योजना बनाई कार्यान्वयनमा जानुपर्छ । जेनेरेसन ग्यापका कारण खोप छुटेको या छुटाइएको रहेछ भने सचेतना बढाउनुपर्ने हुन्छ । दादुरालाई हल्का रूपमा लिने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि त्यति नै जरुरी छ ।