- लिगका चार खेलसम्म अपराजित नेपाल एपिएफ र मच्छिन्द्र क्लबले समान १२ अंक जोडेका छन्, गोलअन्तरमा एपिएफ शीर्ष स्थानमा
नेपाल एपिएफ र मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा आफनो अपराजित यात्रा चौथो खेलसम्मै पुर्याएका छन् । बुधबार भएको चौथो चरणका खेलमा एपिएफ र मच्छिन्द्रले शतप्रतिशत जित निकालेका हुन् । सातदोबाटोस्थित एन्फा मैदानमा एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–१ ले हरायो । दुईपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि विजेता मच्छिन्द्रले प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएको चित्लाङ एफसीमाथि ३–१ को जित निकाल्यो ।
एपिएफ र मच्छिन्द्रले चार खेलबाट समान १२ अंक बटुलेका छन् । विपक्षीविरुद्ध एक गोल बढी गरेको एपिएफ शीर्ष स्थानमा छ । एपिएफले नौ गोल गर्दा तीन व्यहोरेको छ । मच्छिन्द्रले विपक्षी पोस्टमा आठ गोल गर्दा दुई खाएको छ । तेस्रो स्थानमा रहेको लालीगुराँस एसोसिएसनले १० अंक जोडेको छ । न्युरोड टिम (एनआरटी) ९ अंकसहित चौथो र ८ अंकको त्रिभुवन आर्मी पाचौँ स्थानमा छन् । पहिलोपटक राष्ट्रिय लिग खेलिरहेका नवजन जागृति युवा र काँक्रेबिहार युथ क्लब अंकविहीन छन् ।
एपिएफको जितमा समीराज नायक
राष्ट्रिय लिगको ३३औँ खेलमा एपिएफलाई जित दिलाउन समीराज थोकरले दुवै गोल गरेका थिए । खेलमा जावलाखेलले अग्रता लिएको थियो । धर्मेन्द्र कुँवरले खेलको २०औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । उनले लिगमा व्यक्तिगत तीन गोल गरिसकेका छन् । दोस्रो हाफमा समीराज चम्किएपछि एपिएफले ३ अंक बटुल्यो । समीराजले ५८औँ मिनेटमा एपिएफलाई १–१ को बराबरीमा ल्याए । खेलको ८४औँ मिनेटमा उनले एपिएफलाई २–१ को जितका लागि गोल गरे । प्रतिस्पर्धामा उनी प्लेयर अफ दी म्याच बने । एपिएफबाट समीराजले लिगमा व्यक्तिगत तीन गोल गरेका छन् । उनले चर्च ब्वाइजविरुद्ध एक गोल गरेका थिए ।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी चम्किए
दुईपटक ‘ए’ डिभिजन लिग जितेको मच्छिन्द्रको योजना राष्ट्रिय लिग पनि हात पार्ने हो । मच्छिन्द्रले यसै रणनीतिअनुरूप लिगमा प्रतिस्पर्धा गरिरहेको छ ।
राष्ट्रिय लिगमा राम्रा विदेशी तथा स्वदेशी खेलाडी अनुबन्ध गरेको छ । मच्छिन्द्रको चार जितमा विदेशी खेलाडी नै नायक बन्दै आएका छन् । चित्लाङविरुद्ध विदेशी खेलाडी जोनाथन जोरिल्ला र एलिजोन एलिजोनोभले समान एक तथा प्रदीप बुढाथोकीले एक गोल गरेका थिए । खेलको ३०औँ मिनेटमा प्रदीपले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । मध्यान्तरअघि मच्छिन्द्र एक गोलले अगाडि रह्यो ।
खेलमा जोनाथनले ६५औँ मिनेटमा मच्छिन्द्रलाई २–० को स्थितिमा राखे । प्रतियोगितामा उनको यो तेस्रो गोल हो । एलिजोनोभले ६९औँ टोलीको लागि ३–० को अग्रता बनाएका हुन । चित्लाङका विज्ञान खडकाले ७०औँ मिनेटमा एक गोल फर्काएका थिए ।