एरिका डब्लुकेएफको १३औँ स्थानमा

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण
  • कराँते वान प्रिमियर लिगकी रजत विजेता नेपालकी एरिका गुरुङको डब्लुकेएफ वरीयतामा फड्को

नेपालकी कराँते खेलाडी एरिका गुरुङ विश्व कराँते महासंघ (डब्लुकेएफ)ले सार्वजनिक गरेको वरीयताको १३औँ स्थानमा उक्लेकी छिन् । टर्कीमा भएको कराँते वान प्रिमियर लिग (२०२६)मा रजत पदक जित्दै इतिहास बनाएपछि गुरुङले डब्लुकेएफ वरीयतामा फडको मारेकी हुन् । मंगलबार इस्ताबुलमा ६८ केजीमाथि तौल समूहको फाइनलमा उनी काजकस्तानकी सोफियाबाट ४–२ ले पराजित भएकी थिइन् । 

नेपालको कराँते इतिहासमा डब्लुकेएफको वरीयतामा शीर्ष १५ सम्म स्थान बनाउने एरिका पहिलो खेलाडी हुन् । उनी प्रिमियर लिगमा दोस्रो वरीयतामा रहेकी छिन् । एरिका आफनो तौल समूहमा एसियाली खेलाडीमध्ये दोस्रो स्थानमा रहिन । उनले २१४५ अंक बटुलेकी छिन् । ‘डब्लुकेएफ वरीयतामा शीर्ष १३ सम्म पुग्नु अर्को ऐतिहासिक सफतला हो,’ एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय खेलमा थप पदक ल्याउँदा वरीयतामा फेरि सुधार आउने विश्वास छ ।’ अहिले नेपाली कराँते टोली बेलायतमा छ । टोलीले बेलायतमा अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता खेल्दै छ । 

दुई वर्षदेखि सक्रिय
एरिका पछिल्लो दुई वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आइरहेकी छिन् । त्यसमा उनले उत्कृष्ट प्रदर्शनसमेत गरेकी छिन् । विश्वस्तरीय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनको डब्लुकेएफ वरीयतामा सुधार आएको हो । कराँते वान प्रिमियर लिगमा दोस्रोपटक सहभागी हुँदा उनी पदकविहीन भइनन् । गत वर्ष पहिलोपटक भाग लिँदा उनले कांस्य पदक जितेकी थिइन् । गत वर्ष प्रिमियर लिग वानमा सहभागी हुँदा उनी २७औँ स्थानमा थिइन् । गत कात्तिकमा इजिप्टको कायरोमा भएको डब्लुकेएफ विश्व च्याम्पियनसिपमा तीन फाइट जिते पनि निर्णायक फाइटमा पराजित हुँदा उनी पदकविहीन भइन् । गत असोजमा मलेसियामा भएको कराँते वान सिरिज ‘ए’मा एरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । यसैगरी, सन २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोगितामा ६८ केजीमाथि तौल समूहमा उनले रजत पदक हात पारेकी थिइन् ।

सोफिया नै मुख्य प्रतिद्वन्द्वी
काजकस्तानकी सोफिया र एरिकाबिच ६८ केजीमाथि तौल समूहमा कडा प्रतिस्पर्धा भइरहेको छ । एरिकाले सोफियालाई एकपटक हराएकी छिन् । उनले विपक्षीलाई प्रत्येक भेटमा कडा चुनौती दिँदै आएकी छिन् । सन् २०२३ को १९औँ एसियाडमा यी दुई खेलाडीबिच स्वर्ण भिडन्त भएको थियो । चीनमै भएको २०औँ एकेएफ कराँते च्याम्पियनसिपमा एरिकाले सोफियालाई सेमिफाइनलमा हराएकी थिइन् । 

See More On

सुझावित समाचार