सातामै दोस्रोपटक पश्चिममा हिमपात : बागमतीदेखि पश्चिमी क्षेत्रमा मध्यम वर्षा

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण
सातामै दोस्रोपटक पश्चिममा हिमपात : बागमतीदेखि पश्चिमी क्षेत्रमा मध्यम वर्षा

दार्चुलाकाे अपिहिमाल गाउँपालिका– ४, खण्डेश्वरीमा परेको हिमपात

सातामै दोस्रोपटक अर्थात् शुक्रबार र शनिबार हिमपात भएकामा बुधबार पनि फेरि हिमपात भएको छ । बागमतीदेखि पश्चिमका क्षेत्रमा मध्यम वर्षा भए पनि पूर्वी नेपाल र मधेश प्रदेशमा भने हल्का मात्र वर्षा मापन भएको छ । बुधबार सबैभन्दा बढी सुर्खेतको खानीखोलामा ४३ मिलिमिटर वर्षा मापन भएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालबाट मंगलबार रातिदेखि वर्षा र हिमपात सुरु भएकामा बुधबार देशका धेरैजसो ठाउँमा वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । यसअघि गत शनिबार पश्चिम नेपालका गण्डकीसम्म हिमपात र वर्षा भएको थियो । 

पुन: हिमपात भएपछि उच्च पहाडी र हिमाली क्षेत्र सेताम्मे बनेका छन् । दार्चुला, बझाङ, बाजुरा र हुम्लालगायत हिमाली जिल्लामा मंगलबार साँझ नै वर्षासँगै हिमपात सुरु भएको थियो । बैतडी, डडेलधुरा, जुम्ला, मुगु, जाजरकोट, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लामा बुधबार बाक्लो हिमपात भएको छ । मुस्ताङमा दुई फिटसम्म हिमपात भएको छ । पूर्वी क्षेत्रका हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम हिमपात भएको छ । 

बैतडीका उच्च भेग खोड्पे, श्रीभावर, अनारखोली, सिगास, ग्वाल्लेक, सतबाँझलगायत क्षेत्रमा बाक्लो हिमपात भएको छ । डाँडाकाँडामा बाक्लो हिउँ थुप्रिएको अपिहिमाल गाउँपालिकाका हेमन्त बोहराले बताए । हिमपातले अपिनाम्पा हिमाली क्षेत्रको पर्यटनमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए । 

‘हामीले अपिहिमाल घुम्न पर्यटकलाई आकर्षित गर्दै आएका छौँ, तर हिउँ नै नभएपछि हिमालको सुन्दरता पनि घट्दो रहेछ,’ उनले भने । हिमपातले उच्च क्षेत्रमा चिसो बढेर जनजीवन भने कष्टकर बनेको बोहराले बताए । बाजुराको त्रिवेणी, गौमूल, बडिमालिका, बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र खप्तड छेडेदहलगायत ठाउँमा उच्च भेगमा भारी हिमपात भएको छ ।

हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्नवर्ग बढी प्रभावित भएको बुढीनन्दा नगरपालिका– ९ का स्थानीय कुलबहादुर भोटेले बताए ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार वर्षा थामिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । तर, बिहीबार पहाडी क्षेत्रमा घामबादल हुनेछ भने तराईमा बिहानपख हुस्सु लाग्नेछ ।

हिमपात हुन थालेपछि किसान उत्साहित 
ढिलै भए पनि हिमपात हुन थालेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रका किसान खुसी बनेका छन् । उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातले माटोमा चिस्यान बढाएपछि गहुँ, जौ, आलु र उवाजस्ता हिउँदेबाली सप्रिने छायानाथ रारा नगरपालिका– ६ का रूपबहादुर सेजुवालले बताए । उनका अनुसार पहिला–पहिला असोज–कात्तिकमै घरमै घुँडासम्म हिमपात हुने गर्थ्यो । 

५–६ वर्षयता समयमै हिमपात हुन छाडेको छ । हिउँदे सिजनमा लामो समयदेखि हिमपात र पानी नपर्दा बाली सुक्ने अवस्थामा पुगेको बताउँदै उनले भने, ‘हिमपातले जमिनमा आवश्यक चिस्यान दिएको छ, अब उत्पादन राम्रो हुने आशा गरेका छौँ ।’

मुगुम कार्मारोङ गाउँपालिका– ७ का छिरिङ फोन्जक लामा पनि बाक्लो हिमपात र पानीले जडीबुटीलाई पनि राम्रो गरेको बताउँछन् । ‘यो गाउँपालिका जडीबुटी र पशुचौपायामा आत्मनिर्भर पालिका हो । समयमै बाक्लो हिमपात र पानी नपरे मुख्य आम्दानीको आयस्रोत जडीबुटीलाई ठुलो असर पर्छ,’ उनले भने । हिमपात हुँदा केही राहत महसुस भएको उनले बताए ।

कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारी हिमपातले माटोको उर्वराशक्ति बढाउने, किरा–फट्यांग्रा नियन्त्रण गर्ने र हिउँदेबालीको उत्पादनमा वृद्धि हुने बताउँछन् । ‘यो समय स्याउ, ओखरलगायत बिरुवा रोप्ने, काँटछाँट गर्ने भएकाले सबै फलफूललाई समेत सहयोग पुग्छ,’ उनले भने, ‘कृषि क्षेत्रका लागि यो सिजनमा हिमपात आवश्यक मानिन्छ ।’

वर्षासहितको हिमपात मंसिरमा छरेका गहुँ, जौ, उवालगायतका अन्नबालीका लागि फाइदा हुने भएको सिँजा गाउँपालिका– ३, मोफ्लाका गोपाल रोकायाले बताए । उनले भने, ‘पुस महिनामा परेको हिउँ चाँडै बिलाउँदैन । अन्नबाली र फलफूलका बिरुवालाई सहज हुन्थ्यो । माघमा हिउँ परे पनि किसानलाई फाइदा नै पुग्छ ।’ जुम्लाका किसान अहिले स्याउ बगैँचा व्यवस्थापन, काँटछाँट र सिँचाइमा जुटेका छन् ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले कर्णालीमा हिमपात र कृषि क्षेत्रको पारस्परिक सम्बन्ध रहेको बताए । ‘खेताली तथा लेकाली क्षेत्रमा हिउँदमा लगाइएको बालीको सिँचाइ हिउँले मात्रै गर्छ,’ उनले भने, ‘पछिल्लो केही वर्षयता हिउँ ढिला पर्दा स्याउ बगँैचा व्यवस्थापनदेखि अन्य बालीनालीमा समस्या हुने गरेको छ । फागुनमा नयाँ स्याउका बिरुवा रोप्न माटोमा चिस्यान कायम राख्न पनि हिउँ जरुरी छ ।’

कर्णाली प्रदेशका नागरिकको मुख्य पेसा र जीविकोपार्जनको मूल आधार नै कृषि हो । फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, स्थानीय रैथानेबाली, खाद्यान्न बालीका साथै पशुपालन यहाँका नागरिकको जीविकाको आधार हो । धेरैजसो विकट पहाडी क्षेत्र भएको कर्णाली प्रदेशमा जम्मा ३० लाख २० हजार नौ सय हेक्टर जमिनमध्ये दुई लाख ६०२ हेक्टरमा मात्रै खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार २३३ हेक्टरमा मात्रै वर्षैभरि सिँचाइ सुविधा उपलब्ध छ । बाँकी सिँचाइ नहुने खेतीयोग्य जमिनमा अकासेपानीको भरमा खेतीपाती गर्ने गरिन्छ ।

बैतडीस्थित सतबाँझ सुक्खा फलफूल विकास केन्द्रका प्रमुख अर्जुन खड्काले हिमपातले हिउँदे बाली तथा फलफूल सप्रिने बताए । ‘अकासेपानीको भरमा गरिएको खेती सप्रिन्छ, बालीनाली, फलफूलको गुणस्तर वृद्धि हुन्छ,’ उनले भने, ‘हिमपातले हिउँदे बालीमा लाग्ने रोगकिरा पनि कम हुन्छन् ।’ 

काठमाडौंमा ८६ दिनपछि वर्षा
काठमाडौंमा ८६ दिनपछि बुधबार वर्षा भएको छ । यो हिउँदकै पहिलो वर्षा हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रमा २.२ मिलिमिटर वर्षा मापन भएको छ । यो केन्द्रमा यसअघि १६ कात्तिकमा १.४ मिलिमिटर वर्षा मापन भएको थियो । ‘त्यतिखेर लगातार तीन दिन (१४, १५ र १६ कात्तिक) मा ठुलो पानी परेको थियो । तर, त्यसपछि बुधबार मात्र वर्षा रेकर्ड भएको छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । रेकर्डअनुसार १५ कात्तिकमा १६.१ मिलिमिटर र १४ कात्तिकमा ४७ मिलिमिटर वर्षा भएको थियो । १६ मंसिर अर्थात् हिउँद लागेपछि काठमाडौंमा वर्षा हुन नसकेकामा बुधबार भएको हो । पश्चिमी न्यूनचापीय प्रणालीले बागमतीदेखि पश्चिमका क्षेत्रमा मध्यम वर्षा गराउँदा काठमाडौंमा पनि हल्का वर्षा भएको छ । विभागका अनुसार बुधबार उपत्यकामा सबैभन्दा बढी ललितपुरको टीकाथलीमा पाँच मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

See More On

सुझावित समाचार